काठमाडौं र पोखरामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

जेठ २९, २०७७


२९ जेठ । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैत देखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो ।


  पोखरा

कास्कीको पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पोखराको राष्ट्र बैंक चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।प्रधानमन्त्रीका कारण जनताले दुख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् । नाराबाजी गर्नेहरुले नेपालको राष्ट्रिय झण्डा पनि बोकेका थिए ।  प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको छ ।