शिक्षा

असार १०, २०७७     थम्मन निर्दोषी बस्नेत


आधुनिक नेपाल निर्माणको गहन जिम्मेवारी बोकेर आफ्नो जिवनलाई समर्पण गरेका समस्त वीर योद्धाहरुको शिक्षा दीक्षा कहा र कसरी भयो भन्ने बिषयमा प्रष्ट धारणाहरु आएको खासै भेटिदैनन। यहि तथ्यमा टेकेर बहस गर्ने हो भने आजका सन्ततिहरुले लिइरहेको जस्तो औपचारिक शिक्षाका प्रमाणपत्रहरुले सुशोभित भएका दस्तावेजहरु खासै फेला नपर्नु पनि उनिहरुले आज भोलिका जस्ता आधुनिक शिक्षालयमा हाजिरी भएर अध्ययन नगरेको पुष्टि हुन्छ। तथापि त्यो बेलाको गुरुकुल शिक्षा प्रणालीमा धर्म, देशभक्ती र राष्ट्रियतालाई प्रभावकारी ढङ्गले बुझेको र बुझाउने गरेको अनुमान लगाउन सकिन्छ। पुर्विय दर्शनमा आधारित रामायण, महभारत लगाएत नेपालको गौरवशाली इतिहासका पानाहरु अध्ययन गरेर पनि पुर्खाहरुको ज्ञान बिज्ञानले देशभक्ति बोकेको स्पष्ट देख्न सकिन्छ। प्राचीन समयमा शिष्यहरुसङ्ग अहिलेका जस्ता विद्वता झल्काउने प्रमाणपत्र नभए पनि विश्व सामु राष्ट्र र राष्ट्रियतालाई सदैव उच्च राख्ने सीप, कला, ज्ञानले सुशोभित थिए भन्ने इतिहास साक्षी छोडेका छन। उनिहरुले आर्जन गरेका शिक्षा कागजमा विद्वता देखाउने रङ्गिन प्रमाणपत्रको लागि भन्दा पनि राष्ट्र, राष्ट्रियता र स्वाभिमानीको रक्षा गर्न स्वासै पिच्छे तयार नालापानी, कुमाउ, गडवाल, टिष्टा अनि कागडाको युद्धले प्रष्ट्याएको छ। सहि अर्थमा शिक्षा प्राप्तिका व्यावहारिक गुणहरु तिनै रहेको दृष्टान्त नै अहिले देशलाई धिक्कार्दै बिदेशिने मोहले गाजेका हरेकलाई देशभक्ति, राष्ट्र, राष्ट्रियता अनि स्वाभिमानी  सिकाउन नसक्नु आजको शिक्षाको कमजोरी हो भन्ने पुष्टि मान्न सकिन्छ।

शिक्षा प्रणालीलाई विश्व परिवेशमा अटाउने बनाउनु पर्द्छ भन्नेहरुले लाखौंको संख्यामा बिदेशिएका नागरिकहरुले पठाएको रेमिटेन्सबाट देश हाक्न खोज्नु र शिक्षामा बिदेशी अनुदानको अभिलाषा  राखी शिक्षा नीति बनाउनुले पनि अहिलेको आधुनिक शिक्षण सिकाईको उद्देश्य अस्पष्ट भएको स्वभाविक हो जस्तो लाग्द्छ।

विभिन्न कालखण्डमा देखिएका घटना परिघटनाहरुले शिक्षाका परिवर्तित स्वरुपहरु नजिरको रुपमा हामीले पाएका छौ। विकास हुनु र परिवर्तन हुनुलाई मैले अत्यन्तै सकारात्मक तरिकाले लिने गर्द्छु तथापि केही विकास र परिवर्तनहरुले मानिसको धर्म र दायित्वमा खाडल परेको देख्दा शरीरको सम्पूर्ण उर्जा भित्रै देखि मुर्झिएको अनुभुत गर्द्छु। बि. स. १९०३ को कोतपर्वले शक्तिको बागडोर लिएका श्री ३ जङ्ग बहादुर राणाले आफ्ना भाइ भतिजाहरुलाई शिक्षा दिने हेतुले बि. स. १९१० मा थापाथलीमा दरवार स्कुलको स्थापना गर्नु नै शिक्षालय स्थापनाको बिजारोपन नेपालको शिक्षा इतिहासमा पहिलो कदम बनेको हो। राष्ट्रिय शिक्षा पद्धति २०२८ ले निजि स्तरबाट  पनि शिक्षालय संचालनको ढोका खोलिदिनुले शिक्षालयहरुको संख्यामा बढोत्तरी भएको इतिहासले बताउछ। यो कदमले शिक्षा प्रणालीमा एक तहको फड्को मारेको शिक्षाविदहरुको बुझाइ हुदाहुदै पनि बेलाबेलामा उनीहरुबाट शिक्षा निति निर्माणमा आउने कपटपूर्ण सल्लाह सुझावहरुले अपरिपक्व एक तर्फी अनि स्वार्थी नीति सावित गर्छ कि भन्ने डर कताकता पैदा हुने गर्द्छ।

शिक्षाको दृष्टिकोणबाट  सुधारवादी राणा प्रधानमन्त्रीको रुपमा चिनिने श्री ३ देव शमशेरले शिक्षालाई अलि व्यापक बनाउनेतर्फ जोड दिएको इतिहास पढ्दै गर्दा बि. स. १९७५ को त्रिचन्द्र स्कुलको स्थापना र बि. स. १९९० बाट प्रवेशिका परिक्षाका लागि भारत जान नपर्ने व्यवस्थाको सुरुवात गर्नु शिक्षालय, शिक्षक र शिक्षार्थीहरुलाई शिक्षामा सहज पहुच बनाउने प्रयास भएको मान्न सकिन्छ। प्रजातन्त्र प्राप्ति लगत्तै शिक्षामा धेरै परिवर्तन नभए पनि पञ्चायतकालमा लागू भएको राष्ट्रिय शिक्षा पद्धति २०२८ले शिक्षा प्रणालीको स्वरुपलाई आमूल परिवर्तन गरिदिएको यथार्थ भुल्न सकिदैन। शिक्षालाई सर्वसुलभ बनाई सबैमा सहज पहुँच पुर्याउने उद्देश्यले बेलाबेलामा राज्यको तर्फबाट प्रभावकारी योजनाहरु अवलम्बन गरी लागू गर्ने कोसिस गरे पनि सफलता हात पार्न नसक्नुका पछाडी अनगिन्ती कारणहरु रहेका आकलन गर्न सकिन्छ। विभिन्न आरोह अवरोह खप्दै भए पनि शिक्षा विकासका चरणहरुमा निकै उथलपुथल भएको हामी सबैले महसुस गरेका छौ जस्तो लाग्द्छ। ठोस योजना र लक्ष्य बिना सैद्धान्तिक परिक्षा उत्तीर्ण सिपरहित उत्पादित जनशक्तिहरुले राज्यको बेरोजगारी संख्या बढाउन अहम् भुमिका खेलेको जो कोहीले पनि बुझ्न सक्द्छ।

शिक्षाका निति निर्माण  तहमा बस्नेहरूले ती सिपरहित जमात उत्पादन गर्ने अनि उनिहरुलाई नै अविश्वास गर्नु हास्यास्पद कुरा हुन्छ।

शैक्षिक बेरोजगारलाई बढाउन मुल्यांकन प्रक्रियालाई आफू अनुकुल बनाएर शिक्षित जनशक्ति उत्पादनको आकडालाई साक्षरता प्रतिशतमा राखेर आफै भित्र फुल्नु गुब्बारामा हावा भरेर सिउडिको झाडीमा उडाउनु सरह हो।परम्परागत शिक्षा प्रणालीबाटै दिक्षित भएर पनि आफुलाई जिम्मेवार नागरिक सोच्नेहरुले राज्यको आश गर्नेहरूको भिडबाट अलि माथी उठ्दै स्वरोजगार बन्ने प्रयत्नका साथ लाखौंको संख्यामा रोजगारका अवसर दिने हिम्मत गर्नेहरु आटिला जनहरुलाई निरुत्साहित गर्ने नितिहरु आउदा भोज आयोजना गरेको छर्लङ्ग देखिनु समृद्ध र समुन्नत राष्ट्र निर्माणको अभियानलाई अभिशप्त हुन सक्द्छ। चुनौतीका असंख्य पहाडहरुको बेवास्ता गरेर भविष्यमा आउने खतराहरु सङ्ग जुध्ने साहसका साथ राज्यको प्रमुख दायित्वलाई आफ्नो काधमा बोक्न तयार जमातले सम्मान खोजेका छन जस्तो लाग्दैन यद्यपि उनिहरुलाई हतोत्साहित नगर्नु राज्यको प्रमुख जिम्मेवारी हुन आउछ जस्तो लाग्द्छ। यसको अर्थ राज्यले नियमन र व्यवस्थापन नगर्ने भन्ने चाहिँ किञ्चित होइन। केवल समान दृष्टिकोण र व्यवहार गर्दै अवसरका सम्पुर्ण ढोकाहरु खोल्ने र उनिहरुलाई एउटै धर्तिका सन्तानको दर्जामा राखिदिए मात्र पुग्द्छ भन्न खोजेको हो। निजि लगानीमा राष्ट्रको जिम्मेवारी हलुका बनाउने तमाम शिक्षालयहरु र शिक्षा प्रणाली आजको युगमा प्रवेश गर्नु शुभ संकेत भएको स्वीकार गर्न सक्नुपर्द्छ।

देशको मुहार फेर्न सक्ने युवाहरूलाई खाडीमा पठाएर भित्राएको रेमिटान्समा गर्व गर्न सक्नेहरुले निजि शिक्षालयहरुले ठूलो मात्रामा बिदेशिने अर्थतन्त्रलाई स्वदेशमा राख्न भुमिका खेलेकोमा हौसलाका दुई शब्द बोल्न खिन्न मन बनाउनु हुदैन। कृत्रिम बादल बनेर सुर्यलाई छोप्छु भन्दै शिक्षाको जगलाई भत्काउछु भन्दै गर्दा नेपाली शिक्षा प्रणाली प्रतिको सम्मान र विश्वास गुम्न सक्द्छ भन्ने यथार्थलाई लुकाउन महङ्गो सावित हुन सक्द्छ।

शिक्षा प्रणाली र शिक्षालयहरुको विकासक्रमलाई नियाल्ने हो भने गुरुकुल शिक्षा देखि आधुनिक शिक्षाको स्वरुप सम्म आइपुग्दा धेरै आर्थिक, समाजिक, धार्मिक, बौद्धिक अनि राजनीतिक परिवर्तनहरु भएको पाइन्छ। जेसुकै र जतिसुकै परिवर्तनहरु भए पनि आजका विद्यार्थीहरुलाई शिष्य र शिक्षकहरुलाई गुरु बनाउन सकेको देखिदैन। समृद्ध, समुन्नत, विकसित र सुबिधा सम्पन्न राज्य बनाउन चाहनेहरुले शिक्षालाई मेरुदण्ड मानेको यथार्थ हामी कसैले नकार्न सक्दैनौं। अनि शिक्षामा लगानी समृद्ध राष्ट्रको बिहानी भनेको नेदरल्यान्ड, फिलिपिन्स, क्यानडा अमेरिका जस्ता देशहरूले सार्थक तुल्याइ सकेका छ्न। जसरी आमा शिक्षित हुदा बच्चाहरू सु-संस्कृत र ज्ञानि हुन्छ्न भन्ने बिश्वास छ ठिक त्यसैगरी देश शिक्षित हुन शिक्षा सङ्ग सरोकार राख्नेहरु गुरु बन्न जरुरी छ। शिक्षालाई विकासको प्रमुख आधारशिला बनाउन सम्पुर्ण मूल्य चुकाउन पनि पछि नहटन अत्यावश्यक छ। गुरुकुल समयको शिष्य बनाउन नसके पनि, गुरु बन्न नसके पनि थोरैमात्र भए पनि जागरण आउनुलाई शिक्षाको सकारात्मक पक्ष मान्नु पर्द्छ। अबको शिक्षामा पक्ष र विपक्ष छोडेर राजनीतिको गन्धबाट मुक्त गर्दै राष्ट्रियता र राष्ट्रलाई मन, मस्तिष्क र हृदयमा जगाउन सक्नु चुनौती मानेर नीति निर्माण गरी लागू गर्ने प्रमुख ध्येय हुनु पर्द्छ। विभिन्न लाञ्छनाहरुको चाङ्गबाट आछुतो नभए पनि देशको सिमा मिचिदा केही आवाज त उठेका छ्न। देशको कला संस्कृति बेचिदा कलमहरु त चलेका छन। कमसेकम आज विभिन्न नाममा सन्धि सम्झौता गर्नु पुर्व सजक र जागरुक खबरदारी त भएका छन। कला, साहित्य, गित संगीत, संचार जस्ता विभिन्न माध्यमले आवाजहरु बुलन्द बनाउदै देशभक्ती त देखाएकै छन।

बहुसंख्यकले देशमा केही छैन भनिरहदा उनिहरुले देशमा सर्वस्व त देखेका छन। के यो गर्व गर्न सक्ने कुरा होइन र? के यो राष्ट्रियता र देशभक्ति  जिवित छ भन्ने दृष्टान्त होइन र? के यो शिक्षाले खेलेको भुमिका होइन र? कसले कहाँबाट कसरी शिक्षा बाडिरहेको छ भन्ने प्रश्नमा भन्दा पनि उनीहरुको शिक्षाले कस्तो जागरण ल्याएको छ भन्ने बहसको बिषय बनाउनु आजको मुल ध्येय हुनु पर्द्छ जस्तो लाग्द्छ। देशलाई चोट लाग्दा दुख्ने मन, कला, संस्कृति, भाषा, भेषमा विकार आउँदा भक्कानिने हृदय, मानवतामा ग्रहण लाग्दा अध्यारो देख्ने आँखा, स्वाभिमानी गुम्न लाग्दा खबरदारी गर्ने जिब्रो अनि सिमा मिचिदा जङ्गे पिलर भएर उभिने खुट्टा उत्पादन गर्न सक्नु आजको शिक्षाको चुनौती बनेको छ।