मेरी आमा

असार १४, २०७७     अनिमा बैद्य (थापा)



आमा तिमीले त स्वयम मलाई लेख्यौ भने म तिम्रो बारेमा के नै लेख्न सक्छु र । सम्पूर्ण सृष्टिकर्ताको लागी खोक्रा शब्दहरुले के नै बर्णन गर्न सक्छुर ।आमा शब्द आफैमा परिपूर्ण छ ।आफैमा ममताले भरीपूर्ण छ ।आमा जस्को सुकै किन नहोस् जस्तो सुकै किन नहोस् आमा सबैको लागी प्रिय हुन्छिन् । नेपाली उखान नै छ नी फाटेको भएपनि जामा हो अनी लाटि भएपनि आमा हो । यहि उखान बाट पनि थाहा हुन्छ कि आमाको काख,ममता र सामिप्यता कति प्यारो हुन्छ भनेर ।

आमा भन्ने शब्द मानव देखि जनावर सम्मलाई उतिकै प्रिय लाग्ने शब्द हो । हामि आफैले पनि अनुभब गरेको कुरा हो । कहिलेकाहि हामि चल्लाको नजिक जाँदा माऊ झम्टन आउछ । बाछोको नजिक गयौँ भने गाई झम्टन आउँछ । यसबाट पनि प्रष्ट हुन्छ कि जीवन र जगतमा आमाको माया अपरम्पार छ भनेर । हामी जीवनमा जति बेला अप्ठेरोमा हुन्छौ सबै भन्दा अगाडि सम्झने ब्यक्ति आमा नै हुन् । त्यति मात्र कहाँ होर हिड्ने बेलामा कहिलेकाँहि लड्यौ भने पनि हाम्रो मुखबाट अनायासै आमा भन्ने शब्द निस्कन्छ । त्यसैले आमा संसार कै अनमोल साइनो हाे ।

सबैकी जस्तै प्यारी छिन् मेरी आमा पनि । विहान घाम लाग्ने बेला सम्म सुते पनि कोठा मै चिया ल्याइदिने मेरी आमा, बाबालाई नदेखाएर पकेट खर्च दिने मेरी आमा अनि कहिलेकाँहि म रिसाएर खाना खाइन भने पनि पिटि पिटि खाना खुवाउने पनि मेरी आमा नै हुन् । साँच्चै त्यतीबेला तिम्रो स्नेहलाई बुझ्न नसकेपनि म अहिले आफु आमा भएपछि तिम्रो ममतालाई महसुस गर्न सक्ने भएकी छु । म पनि अहिले तिमै्र भुमिका निभाउदै छु मेरी आमा । तिमीले जस्तै म पनि अहिले छोराछोरीको पछि दौडि दौडि खाना खुवाउछु । कहिले काही छोराछोरी बिरामी भएपछि उनीहरुको पिडा बरु आफैलाई भैदिए हुन्थ्यो जस्तो लाग्छ ।हो मेरी आमा म अब बल्ल बुझ्दै छु तिम्रो ममतालाई ।


मलाई अझै पनि याद छ मेरी आमा म एक पटक धेरै बिरामी भए । त्यसबेला तिमीले कति सास्ती खेप्नु परेको थियो । घरमा पैसा नभएर कति जना सँग हात थाप्नु परेको थियो । मैले केहि नभने पनि सबै कुरा बुझ्थ्यौ । म रुदा म सँगै रुन्थ्यौ । खै म कहिलै तिम्रा आँसु पुछ्न सक्छु कि नाइ ? तर पनि कोसीस त म पक्कै पनि गनेै छु । जीवनमा कहिलै तिम्रो चित्त दुख्ने काम गरेको भए अन्जानमा गरेको गल्ति सम्झि मलाई माफ गरीदिनु मेरी आमा । मलाई थाहा छ । तिम्रो मन नौनी जस्तै कोमल छ । आमा नै एउटा यस्तो व्यक्ति हुन् । सन्तानका हरेक गल्तिलाई विना संकोच माफ गर्छिन् ।
मेरी आमा तिमीलाई सम्झदा मेरो बालापन सँग जुडेको मिठो यादले मलाई सताई रहन्छ । मेरो माइति आँगन,दिदीबहिनीहरु,साथीसँगी सबै कुरा चलचित्रको दृश्य जस्तै झलझली मेरो आँखा अगाडि नाँच्न थाल्छ ।मेरो दाइ र म उस्तै उमेरका थियौँ । हामी कहिलेकाहि चल्दा चल्दै हानाहान पनि गथ्र्यौ अनि रोए पछि लौरोले दौडाइ दौडाइ पिट्थ्यौँ । म त्यति बेला तिम्रो त्यो पिटाइमा रीस देख्थे भने अहिले आएर सम्झदा स्नेहको आभाष हुन्छ मलाई । हामी ६ भाइबैनी हुदा पनि सबै खानेकुरा बाटेर खान्थ्यौ । मलाई आजै जस्तो लाग्छ,हामीले बासी भात समेत जति छ सबैको भाग लगाएर मात्र खान्थ्यौँ ।सानोमा सबै भाइबैनी बिच गहिरो प्रेम थियो हामी बिच । यो सबै तिमीले नै सिकाएकी हौँ मेरी आमा । बरु अहिले सबै आ आफ्नो कामका व्यस्त भएर होला अलिकति दुरी आएको होकी जस्तो लाग्छ ।

मेरो मानसपटलमा अझै ताजै छ मेरी आमा । एक पटक छिमेकी दिदीको छोरा बिरामी हँुदा मैले आफुले टिका लगाएर जम्मा गरेको पैसा दिएकी थिए । जुन कुरा म अहिले पनि छिमेकी दिदीले गर्नु हुन्छ । मेरो मन भित्र भित्रै फुरुङ हुन्छ । अचम्म लाग्छ, चाउचाउ,चक्लेटको लोभ लाग्ने त्यो उमेरमा सहयोगको भावना कँहाबाट आयो होला ?यो प्रश्नको एउटै उत्तर आउँछ त्यो सबै तिम्रै संस्कार हो मेरी आमा । तर खै आजभोली का बच्चाबच्चीमा त म कुनै सद्भाव र सहिष्णुता देख्दिन । यति धेरै जिद्दि र हटि हुन्छन् की हामी आफै उनका अगाडि घुडा टेक्न बाध्य हुन्छौ । समय नै यस्तै हो की, हामी आफैले लालन पालनमा कहि कतै कमी राख्यौँ । मनभित्र भित्रै त्रासको धमिलो बादलले ढाकिरहन्छ म तिमी जस्तै असल आमा बन्न सक्छु की सक्दिन । तिमीले त नबोले पनि सबै मनका कुरा बुझ्थ्यौँ मेरी आमा । तिमीले जस्तै मैले आफ्ना सन्तानको भावना बुझ्न सक्छु की सक्दिन । कामको व्यस्ततामा अल्झिएर कतै आफ्नो कर्तव्य त भुलि रहेकी छैन यी सबै कुराले झस्काइ रहन्छ मेरी आमा ।


लेखपढ गर्न नजानेपनि संसार बुझेकी थियौँ मेरी आमा ।एकपटक कुनै मान्छे देखेपछि त्यो मान्छेको बारेमा पहिचान गर्ने क्षमता तिमीमा थियो । पाँच दिदीबैनीको एउटा भाइ भएपनि कहिलै भेदभाव गरीनौँ मेरी आमा । खानेकुरा,लगाउने कपडा अनि पढाइ लेखाइ कुनै कुरामा पनि विभेद गरीनौ मेरी आमा । छोराछोरी बिचको विभेदलाई कहिलै महसुस गरेनौ हामीले अनी म कसरी तिमीलाई पढेकी छैनौ भनेर भनौँ । पढेलेखेका भनौदाहरुले त यहाँ छोराछोरीमा भेदभाव गर्छन् । उच्च ओहोदाका मानिसहरुले पनि छोरा कै लागी छोरीलाई गर्भभित्रै मारेको पनि हामीले सुनेकै छौ । अनि कसरी म उनिहरुलाई शिक्षित र सभ्य भनेर भनौ । बालबालिकाको लागी घर उसको पहिलो पाठशाला र आमा उसकी पहिलो गुरु हुन् भनेर साच्चै रहेछ । तिमीले देखाएको बाटो र उपदेश मेरो जीवनका अमुल्य सम्पति बनेका छन् मेरी आमा । वस् यसरी नै तिम्रो माया र आर्शिरबाद यसरी जीवनभर पाइरहुँ ।
मलाई कहिलेकाहि आमा र भगवान उस्तै लाग्छ । हामी जसरी भगवान नदेखे पनि भगवान प्रति आस्था राख्न छोड्दैनौ ,प्राथाना गर्न छोड्दैनौ त्यसरी नै जति कठोर मान्छे पनि आफ्नो आमासँग शिर झुकाउछ । हामी अघिपछि नभएपनि जसरी दुःखको बेला भगवानलाई सम्झन्छौ ।त्यसरी नै हामी कहिलेकाही अप्ठेरोमा पर्यौ भने सबै भन्दा अगाडी आमालाई नै सम्झन्छौ । त्यसैले आमा र भगवान मलाई उस्तै उस्तै लाग्छ । हो मेरी आमा तिमी धर्ति हौँ । जसरी यो धर्तिले चुपचाप सहिरहन्छ त्यसरी नै तिमी पनि सारा दुःख पिडा लुकाएर आफ्ना सन्तानको खुसीको लागी संघर्ष गरीरहन्छ्यौ ।आमा मात्र त्यस्तो व्यक्ति हुन जसले विना कुनै कारण आफ्ना सन्तानलाई निस्वार्थ माया गर्छिन् ।


हो मेरी आमा आफु भोकै बसेर पनि सन्तानको पेट भर्ने तिमी नै हौँ । रातभर नसुतेर भएपनि काखमा सुताउने तिमी नै हौँ । बोल्न नजान्ने नावालकको पनि मौन भाषा बुझेर उसलाई कति बेला भोक लाग्छ कति बेला सुसु आउँछ सबै कुरा थाहा पाउने तिमी मात्र हौ मेरी आमा । आमाबाट हामीले जन्मेदेखी हुर्कन्जेल सम्म यसरी नै माया,ममता एवं संरक्षण पाइरहेका हुन्छौ ।त्यसैले आमाको सेवा र सम्मान हरेक छोराछोरीको लागी पहिलो कर्तव्य हुन आउँछ ।हामीले आमाको कोख र दुधको रीण तिर्न त सक्दैनौ तर पनि उनलाई थोरै खुसी दिन सक्यौ भने आफ्नो अलकति समय उनीसँग विताउन सक्यौ भने पनि उनको आर्शिबाद सधै हाम्रो शिरमाथी रहने छ ।त्यहि आर्शिवाद हाम्रो जीवनको सफलताको संन्जिवनि बुटि साबित हुने छ । हामी पैसाले हरेक सुख सुबिधा किन्न सक्छौ । तर आमा र आमाको ममतालाई किन्न सक्दैनौ । त्यसैले आमालाई सम्मान गरौ,सेवा गरौ । जय जननी ।