कथा रङ्गहरुको

असार २२, २०७७     थम्मन निर्दोषी बस्नेत


मानव शरीरमा अवस्थित सबै ज्ञानेनिद्रयहरुले आफू अनुकुलका अवस्था, समय, व्यावहार आदिको चाहना गर्द्छ्न। जन्मे देखि नमरुञ्जेल सम्मको मानवीय चरीत्र के हो भन्ने कुराको निर्धारण धेरै हदसम्म हाम्रै  ज्ञानेनिद्रयहरुले गर्द्छ्न। यी अङ्गहरुलाई नियन्त्रणमा राख्न नसकेर वा नियन्त्रणमा राखेर हाम्रा क्रियाकलापहरु देखा पर्द्छ्न। यद्यपि मानिसका क्रियाकलापहरु समय, बस्तु स्थिति र परिवेश अनुसार ठिक वा बेठीकको तराजुमा राखिन्छन। हाम्रा यस्तै कार्यहरूले अनुकूलता र सहजता खोज्नु मानवीय प्राकृतिक गुण हुन भन्ने प्रष्ट गर्द्छन। जिब्रोले स्वादिलो खाना खोज्नु, आँखा  मनोरम दृश्यमा दौडनु, कानले मधुर ध्वनि पछ्याउनु, छालाले वातानुकुलित अवस्थाको चाहा राख्नु अनि नाकले सुगन्धित सुवासमा लुकामारी गर्न खोज्नु स्वभाविक गुणहरु हुन।

मनोविज्ञानका पिता सिगमन्ड फ्रायडका अनुसार पाच छ महिना पुगे पछि मात्र नवजात शिशुले आफ्नो अस्तित्वलाई पहिचान गर्न थाल्द्छ।

यो तथ्यलाई प्रष्ट पार्न शिशुको गतिविधिलाई मिहिन अध्ययन गर्यौ भने हिड्न, बोल्न नसक्ने शिशुले पनि तीखो स्वर, नमिठो गन्ध, आगोको असह्य राप, रङ्गहिन दृश्य र तितो स्वाद हुदा तुरुन्तै प्रतिक्रिया देखाई हाल्छ।  शिशु, बालक, किशोर, वयस्क अनि वृद्धहरुमा ढिला वा तत्काल आउने प्रतिक्रियाहरु मानवीय गुणका अंश हुन भन्न सकिन्छ। अनि दावीका साथ मानिसले आफू अनुकुल बस्तु स्थिति र परिवेशको चाहना गर्द्छ भन्न कुनै अप्ठ्यारो पर्दैन होला।आवरणमा जे जस्तो देखिए पनि मन भित्रको रङ्गिन संसार व्यक्तिले आफू अनुकुल तय गरेको हुन्छ। मानिसको व्यक्तिगत धारणाले उसका चाहानाहरुको निर्धारण गर्द्छ। उनिहरुका आनीबानी, चालचलन, बोलीचाली, हाउभाउहरु तिनै चाहानाहरुमा निर्भर गर्द्छन। अत: मानिसको मनस्थिति हरेक अवस्थामा एकैनास पाउन सकिदैन। जां पियाजेले भने जस्तै हाम्रो बौद्धिक क्षमता स्थिर हुदैन। यो चलायमान हुन्छ अनि परिवर्तनसिल हुन्छ। वरपरको वातावरण, सामाजिक परिवेश, मनोबिज्ञान अनि वंशानुगत गुणहरुले हाम्रा ज्ञान ग्रहण गर्ने क्षमतामा फरक पर्द्छन। यो सिद्धान्तमा टेकेर हेर्दा प्रत्येक व्यक्तिको गुणहरुलाई परिस्थितिले परिवर्तन गर्द्छन। यसरी परिवर्तित जिवनका आयामहरुलाई परिस्थिति अनुरुप बुझ्न जरुरी देखिन्छ। यो बुझाइमा तैरिदै गर्दा हामीले ब्यक्ति पिच्छे फरक प्रवृत्ति र मनोवृत्ति पाउनु पनि सामान्य रहेछ। यद्यपि हामीले राम्रा, नराम्रा, उचित, अनुचित, सहि, गलत भनेर मानवीय गुणहरुको आफ्नै दृष्टिकोणको तराजुबाट संसारको मुल्यांकन गर्द्छौ। यसरी गरिएको मूल्याकंनले कत्तिको विश्वसनीयता र आत्मसन्तुष्टि दिन्छ भन्ने कुरा पनि ब्यक्तिगत बुझाइमा निर्भर गर्द्छ। त्यही भएर हामीले निर्धारण गरेका ब्यक्तिगत पहिचानहरुलाई सर्वमान्य र सर्वस्विकार्य बनाउने रङ्गहरुको खोजी गर्नु पर्द्छ। 

चरित्रलाई सर्वमान्य तथा सर्वस्विकार्य बनाउन दृष्टिकोण बदल्नु उचित उपाय बन्न सक्द्छ। अरुको स्थानमा आफुलाई राखेर हेर्न सकियो भने सम्भवत सर्वमान्य र सर्वस्विकार्य चरीत्र बनाउन सकिन्छ। हामीले प्रयोग गर्ने बोलचाली होस वा लेखापढिको भाषा होस एकोहोरो शब्दहरूको चाङ्ग लगाउदैमा भाषामा मिठास भरिएर श्रुतियोग्य हुदैन। भाषाविदहरुले भाषामा नव बधुलाई हर तरहले श्रीङ्गार गरे झै विभिन्न भाषिक औजारका रङ्गहरु लेपन गरेर भाषामा माधुर्यता थपी कर्णप्रिय बनाउने अथक प्रयासले भाषाको सुन्दरता सिद्ध गरिसकेका छन।

अलङकार, अनुप्रास, संकेत, लगाएत पुर्खाहरुले प्रयोगमा ल्याएका थुप्रै उखान टुक्काहरुको भाषामा अन्तरघुलन गराएर रसिलो भाषाको इतिहास रचिसकेका छन। मानसपटलका वा हृदयका भावना मौखिक साटासाट गर्न परोस या कागज वा ताम्रपत्रमा लेख्न पर्ने वाक्यांशहरु होउस उखान टुक्काहरुको सजावटले भाषालाई हरेक काल खण्डको मन मस्तिष्कमा अमरत्व प्रदान गर्द्छन। परापुर्व काल देखि हामीले अहिलेसम्म बोल्ने र लेख्ने भाषामा प्रयोग हुने उखान टुक्काहरु कहिले सम्म सान्दर्भिक हुन्छ्न भन्ने कुरा गर्भमा छ तथापि अहिलेसम्म सम्पुर्ण उखान टुक्काहरु सान्दर्भिक र युक्तिसंगत रहेको परिचय सुनी र पढी सकेका छौ।नेपाली भाषामा त्यस्ता कुनै उखान टुक्काहरु छैनन जसले मेरो हृदयमा ठूलो स्थान नबनाएका होउन। एकअर्कासङ्ग कुराकानी गर्दा होउस वा साहित्यका हरेक विधामा कलम चलाउदा होउस उखान र टुक्काको उपयुक्त संयोजनले मानिसको बुझाईमा फराकिलो स्थान बनाइदिएको छ। यसले मानिसले मानिसलाई हेर्ने दृष्टिकोण बदल्न महत्त्वपूर्ण भुमिका खेलेको छ। जसरी एउटा उखानले सम्पुर्ण भनाइको तात्पर्यलाई विश्लेषणात्मक ढङ्गले हेर्न अभिप्रेरित गर्द्छ ठिक उस्तै ढङ्गले उसले ग्रहण गर्ने सच्चाइ प्रतिको दृष्टिकोणले बस्तु स्थितिको यथार्थ चिरफार गरेर अघि बढ्न सहयोग गर्द्छ। भाषामा प्रयोग हुने उखान टुक्काको सान्दर्भिकता बुझ्नलाई मेरो मस्तिष्कलाई पनि धेरै घनचक्कर लगाउन परेको थियो। पहाडको काखबाट यात्रा आरम्भ गर्ने नदिहरुले आफ्नो अविरल यात्रालाई समुद्रमा नपुगुञ्जेल विश्राम दिदैनन। हिमालको टुप्पाबाट झर्ने झरणाहरुले पनि कोसौ टाढाको यात्रा छिचोल्दै नदि अनि समुद्र भेट्ने सपना बोकी निरन्तर झरझर झन्किरहन छोड्दैनन। समुद्रबाट छुट्टिएर आकाशमा स्वतन्त्र रमाउदै उड्छु भनी गएको पानी पनि त आकाशबाट फेरि छुट्टिएर आखिर समुद्रमै फर्की नआई धरै पाउदैन। प्रत्येक सजिवहरुले मेरो भनी पल पलमा लिएको श्वास पनि त जसरी तसरी हावामै आएर बिलिन भैदिन्छ। प्रकृतिका यस्ता अविस्मरणीय गुणहरुले भेडा भेडा सङ्ग, बाख्रा बाख्रा सङ्ग भन्ने उखान सुन्दा अचम्म र अनौठो लागे पनि यसले प्रवाह गर्ने सन्देश अति स्मरणीय छ भन्ने सोचले मलाई जिवनभर सोच्न उक्साइरह्यो । यहि सोचको गहिराइमा पुग्दा यो उखानले बोकेका अनगिन्ती सन्देशका रङ्गहरु भेट्टाइदियो। अनि लाग्यो रङ्गहरु समयलाई सर्वमान्य र सर्वस्विकार्य बनाउन प्रयोग हुदारहेछ्न। रङ्गहरुले बाहिरी आवारणलाई मात्र सजाउदा रहेनछन्। यिनिहरुले जिवनको दृष्टिकोणलाई पनि सजाएर परिवर्तन गरिदिने सामर्थ्य राख्दा रहेछ्न।

 भाषाको नजरले हेर्दा रङ्गहरुले दिने अर्थहरु परिवेश अनुसार फरक, फरक हुन सक्द्छन। कलाकारको नजरले बुझ्ने रङ्गको परिभाषा सामान्य मानिसले बुझ्ने भन्दा भिन्दै पाइन्छ। रङ्गको अनेकार्थ बुझेको मानिसले रङ्गको प्रयोगलाई आफ्नै कल्पनाको आकृतिमा उतारेर परिवेशले बोकेको संदेशको गहिराइ उजागर गरिदिन्छ। कलामा भरिने असंख्य  रङ्गहरुले अवस्था अनुसार मौलिक रङ्गलाई गुमाएर नया रङ्गमा परिवर्तन हुन्छन।

तर कालो रङ्गमा जुनसुकै रङ्ग मिसाए पनि त्यसले आफ्नो मौलिक रङ्ग छोड्दैन बरु उल्टै अरु रङ्गलाई पनि कालो नै पारिदिन्छ। त्यही कालो रङ्गलाई पनि कलाकारले आफ्नो कलाले कलात्मक तरिकाले उज्यालो रङ्ग सावित गरिदिन्छ। यसर्थ आजभोलि रङ्गहरु नै बदनाम हुने गरी सत्यलाई लुकाउन दृष्टिछल गर्ने अनैतिक रङ्गहरुको लेपनले भित्री न्यायका आखालाई जालोले पुरिदिएको हुन्छ। दोषीलाई निर्दोषी सावित गर्न, अपराधीलाई धर्मात्मा बनाउन,  साधुलाई शुली चढाउन रङ्गहरुको किर्तिम अस्त्र प्रयोग गरिन्छ। यथार्थमा रगत, मानवता, धर्म, विश्वास, आस्था, सत्य, असत्य, ठिक, बेठीक सबैको रङ्ग आफैमा विभेदकारी कदापि हुदैन। तर अफसोस, यी रङ्गहरुलाई खाली क्यानभासमा पोत्नै लागेको रङ्गलाई अर्थ्याए जसरी आफू अनुकुलको रङ्ग दिएर छलछाम र कपटपूर्ण योजनामा भरिन्छन। अन्त्यमा हामीले असली रङ्गहरुलाई दोष दिएर लेपन गरिएका रङ्गहरुलाई बङ्गाएर सुन्दर कला नष्ट गर्नेको उन्मुक्तिमा हर्ष मनाउछौ। त्यही लेपन गरिएका रङ्गहरुमा चुर्लुम्म डुबेर।