कसले भन्यो दीपकराजलाई ‘महानायक’ ?

असार २३, २०७७


केही दिनयता ‘महानायक’को विषयले सामाजिक सञ्जाललाई गरमागरम बनाएको छ। निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना समेत भयो । उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् ।

दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि व्यङ्ग्य गर्न पनि सुरु गरेका छन् ।

‘महानायक’को विवादमा आफू पनि तानिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले मुख खोलेका छन् । उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन । मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद ।’

दीपकले आफू कलाकार भएदेखि नै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि उल्लेख गरेका छन् । दीपक अगाडि लेख्छन्–‘जब असत्य चिच्याई चिच्याई बोलेर भिड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो ।’

दीपाश्रीले ‘महानायक’को विषयमा दिएको अभिव्यक्तिमा नायक राजेश हमालले जवाफ समेत फर्काइसकेका छन् ।