‘२ नम्बरी’को छायांकन फागुण अघि नहुने, नयाँ फिल्मको तयारी

असार २५, २०७७


करिब ३० प्रतिशत छायांकन सकिएपछि चलचित्र ‘२ नम्बरी’को टिमले काम अगाडि बढाउन पाएन । चलचित्रको छायांकन चलिरहेको समयमा सरकारले लक डाउन गरेपछि काम रोकिएको हो । काम रोकिएको करिब ४ महिना वितिसक्दा पनि छायांकन अघि बढ्न सकेको छैन । अब भने यसको निर्माणपक्षले फागुण अगाडि चलचित्रको काम सुरु नगर्ने बताएको छ ।

चलचित्रको कथाले जुन दृश्य माग्छ, त्यो अब फागुण अगाडि नपाइने भएपछि निर्माणपक्षले ६ महिना भन्दा लामो समय चलचित्रको छायांकन रोक्ने तयारी गरेको हो । दयाहाङ राई, पल शाह, वर्षा राउत लगायतका कलाकारले अभिनय गरिरहेको यो चलचित्रमा दीपेन्द्र लामाको निर्देशन छ । किरण नेपाली चलचित्रका प्रस्तुतकर्ता हुन् ।

चलचित्र अहिले छायांकन गर्दा दृश्य र लोकेशनको निरन्तरतामा समेत जर्क हुने भएपछि फागुण अगाडि काम अगाडि नबढ्ने भएको हो ।

यो चलचित्रको छायांकन रोकिएपछि निर्माता किरण नेपाली नयाँ चलचित्रको कथामा व्यस्त छन् ।

उनले, ‘२ नम्बरी’को बाँकी छायांकन सुरु गर्नु अगाडि नयाँ चलचित्रको छायांकन सक्ने तयारी गरिएको बताए । चलचित्रको टिम केही दिनमा नै तय हुनेछ ।