एलिजा भन्छिन्, ‘मलाई फिल्मभन्दा म्यूजिक भिडियो फाप्यो’

भदौ १४, २०७७


सेलिब्रेटी पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम नेपाली फिल्मकी अभिनेत्री बनिसकेकी छन् । डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘अनुराग’ मा उनी लिड अभिनेत्रीको रुपमा थिइन् । बाल्यकालदेखि नै अभिनयमा रुची भएकी उनले विवाहपछि अभिनेत्री बन्ने सपना त पूरा गरिन् ।

तर, सफलता प्राप्त गर्न सकिनन् । उनको डेब्यू फिल्मले हलमा घुँडा टेकेको थियो ।  फिल्मको असफलता र अभिनयको प्रशंसा नहुँदा उनीमाथि गिनेचुनेका ब्यानरको नजर पर्न सकेको छैन । तर, यतिबेला उनको म्यूजिक भिडियोमा भने राम्रो माग छ । लकडाउन खुकुलो भएसँगै उनले चारवटा भिडियोमा अभिनय गरिन् । म्यूजिक भिडियोको दुनियाँमा आफ्नो दबदबा कायम गरेका दुर्गेश थापा, पल शाह, पुष्प खड्कासँग उनले भिडियोमा जोडी बाँधिसकेकी छन् । 

उनले अभिनय गरेको पहिलो भिडियो ‘आधी कपाल’ यूट्युबमा हिट छ । यही गीतको लोकप्रियतापछि एलिजाको भिडियोमा माग बढेको हो । बिहीवार उनले पुष्पसँग रोमान्स गरेको ‘म सास बन्न पाए’ बोलको भिडियो सार्वजनिक भएको छ । केही दिनमा पलसँग ठुम्का लगाएको भिडियो पनि सार्वजनिक हुँदैछ । फिल्मबाट असफलता भोगेकी उनलाई भिडियो भने फापेको देखिन्छ ।  एलिजा पनि आफूलाई फिल्मभन्दा म्यूजिक भिडियो फापेको स्वीकार गर्छिन् ।

तर, ‘अनुराग’ बाट आफूले धेरै सिक्न पाएको उनको कथन छ । उनले पुष्पसँग फिल्ममा काम गर्ने इच्छा पनि व्यक्त गरेकी छन् । पुष्पसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो कुरा रहेको उनको भनाई छ । पुष्पले पनि राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा फिल्ममा काम गर्न समस्या नभएको बताएका छन् ।