पेलेलाई पछ्याउँदै नेयमार

असोज ३०, २०७७


काठमाडौँ — ब्राजिलका लागि सर्वाधिक गोल गर्ने सूचीमा दोस्रो स्थानमा उक्लिन नेयमारले मंगलबार पेरुविरुद्ध ह्याट्रिक गरे । पेरिस सेन्ट जर्मेन –पीएसजी) का स्टारले अहिलेसम्म ब्राजिलका लागि ६४ गोल गरिसकेका छन् ।

यो रोनाल्डोको भन्दा दुई बढी हो । यस्तै उनी पेलेभन्दा १३ गोलले पछाडि छन् । नेयमारले पेनाल्टीबाट पहिलो गोल गर्दै रोनाल्डोको बराबरी गरेका हुन् ।

पछि दोस्रो पेनाल्टीमा गोल गरेर रोनाल्डोलाई उछिने । यसक्रममा २८ वर्षीय खेलाडी हातबाट ९ नम्बरको संकेत गरे । यो बार्सिलोना, रियल म्याड्रिड र कोरिन्थियन्सका लागि खेलेका रोनाल्डोप्रतिको सम्मान थियो । सन् २०१० मा ब्राजिलका लागि डेब्यू गरेका नेयमारले १ सय ३ खेलमा ६४ गोल गरेका हुन् । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।