क्षयरोग निवारणका लागि सबै जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड

चैत १०, २०७८


सल्यान, १० चैत ।

क्षयरोग निवारणका लागि सबै जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा सल्यान कपुरकोटमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । कपुरकोट गाउँपालिकाले विश्व क्षयरोग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले सबै मिलेर क्षयरोग विरुद्ध लाग्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले अहिले चलिरहेको क्षयरोग मुक्त नेपाल घोषणा अभियानलाई सफल पार्नुपर्ने बताए । क्षयरोगको पहिचान, निदान,रोकथाम, क्षयरोगीको उपचार, उनीहरुको हेरचाह र सहयोगमा स्थानीय, प्रदेश र केन्द्र सरकारका विचमा समन्वय हुनुपर्नेमा जोड दिदै उनले जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याए । यसमा स्वास्थ्ययकर्मी, महिला स्वास्थ्य स्वयमसेविका देखि राजनितिक दल, जनप्रतिनिधी, संघसंस्था सबैको भुमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाही लगाएतले मन्तव्य राखेका थिए । क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमका कपुरकोट गाउँपालिका अधिकृत अपेक्षा दाहालले क्षयरोग के हो, यसबाट कसरि बन्च सकिन्छ र यसको उपचार के हो भन्ने बारेमा जानकारी गराएकि थिइन् । कार्यक्रमको सञ्चालन सिअहेव पहल रोकाले गरेका थिए ।