‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘आमा’ सर्वोत्कृष्ट, दीपक र सुरक्षा उत्कृष्ट नायक–नायिका

बैशाख ०४, २०७९


कोरोना महामारीका कारण २ बर्षसम्म आयोजना हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यो बर्ष आयोजना गरिएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्रकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरिन् ।

समारोहमा नेपाली फिल्मकी प्रथम नायिका भूवन चन्द र संगीतकार शम्भुजित बास्कोटालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘आमा’ उत्कृष्ट चलचित्र बन्यो । यस्तै, यही चलचित्रबाट दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा सुरक्षा पन्तले यही चलचित्रबाट उत्कृष्ट नायिकाको अवार्ड प्राप्त गरिन् । उत्कृष्ट नायकको अवार्ड भने दीपकराज गिरीले चलचित्र ‘छ माया छपक्कै’बाट प्राप्त गरे ।

उत्कृष्ट सम्पादनको अवार्ड ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले प्राप्त गर्दा, हरि हुमागाँइले ‘छ माया छपक्कै’बाट उत्कृष्ट छायांकारको पुरस्कार जिते ।

यस्तै, उत्कृष्ट कथा लेखन प्रदीप भट्टराइले ‘जात्रै जात्रा’बाट प्राप्त गरे । यस्तै, उत्कृष्ट आदिवासी फिल्मतर्फ गुरुङ भाषामा बनेको फिल्म ‘काचै गोरे गोरे बाजे’ले जित्यो । ‘जीवन काँडा कि फूल’ फिल्मबाट आस्था थापा र फिल्म ‘रातो टिका निधारमा’बाट अंकित शर्माले नव प्रतिभा सम्मान प्राप्त गरे ।

कृष्ण मल्ल संयोजक रहेको जुरी प्यानलमा लय संग्रौला, सामिप्य तिमिल्सिना, नरेश पौडेल, रेजिन उप्रेती, हरि सिंह रैकला रहेका थिए ।