अनमोलको स्वघोषणा : ‘म इन्डस्ट्रीको रियल प्लेयर’

बैशाख ०५, २०७९


अभिनेता अनमोल केसीका हरेक फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा हुन्छ । उनको एक झल्को हेर्नका लागि मात्रै भएपनि हल पुग्ने दर्शकको संख्या ठूलो छ । उनै, अनमोलले अभिनय गरेको आठौं फिल्म ‘ए मेरो हजुर ४’ यतिबेला प्रदर्शनरत छ । साउथको ठूलो फिल्म ‘केजीएफ २’ को हालीमुहालीबीच सुखद् व्यापार गरिरहेको फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

‘केजीएफ २’ को सुनामी व्यापारबीच पनि फिल्मलाई दर्शकले साथ दिएपछि अनमोल आफूले जितेको महशुस गरिरहेका छन् । शनिवार दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलहरुमा पुग्ने क्रममा उनले गोलकिप्पर भएको पोस्टमा गोल हान्ने नै विजेता हुने बताए । खाली पोस्टमा त जसले नी गोल हान्छ । गोलकिप्पर भएको पोस्टमा जसले गोल हान्छ उही हो विजेता उनले भने ।

साउथ सुपरस्टार यश गोलकिप्पर रहेको पोस्टमा आफूले गोल हान्न सफल भएको आशय अनमोलको थियो । पत्रकारले उनलाई प्रतिप्रश्न गरे, ‘त्यसो भए तपाईं फिल्म इन्डस्ट्रीको रियल प्लेयर हो ? जवाफमा उनले स्टारडमको घमन्ड मिश्रित आवाजमा भने- एकदमै । विदेशी फिल्मसँग भिड्न आफूहरुलाई चुनौती भएपनि दर्शकको साथले यो जित सम्भव भएको अनमोलको भनाई छ ।

यसपटक नेपाली फिल्मले वास्तवमै प्रतिस्पर्धा गरेको पनि अनमोल बताउँछन् । उनी भन्छन्, ‘पहिला नेपाली फिल्मसँग जुध्दा त्यो प्रतिस्पर्धा थिएन । प्रतिस्पर्धा अहिले भइरहेको छ र यो प्रतिस्पर्धामा दर्शकहरुले साथ दिँदा जितेको महशुस भइरहेको छ । फिल्म राम्रो बनेको छ भने दर्शकले नेपाली फिल्मलाई नै साथ दिने र यसपटक यो प्रमाणित भएकोमा अनमोलले खुसी व्यक्त गरे ।