‘कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार’ भनेपछि अभिनेता रमेश उप्रेती विवादमा

बैशाख २२, २०७९


नेपाली कलाकार बेलाबेलामा बोलीका कारण विवादमा पर्ने गर्दछन् । कुन विषयमा के र कस्तो बोल्नुपर्छ भन्ने कुरो उनीहरु विचार समेत गर्दैनन् । संवेदनशील र गम्भिर विषयमा बिना विचार हल्का टिप्पणी गर्ने उनीहरुको बानीले कला क्षेत्र नै बदनाम छ ।

केही समय अगाडि अभिनेता पल शाहको बचाउमा अभिनेत्री पूजा शर्माले बलात्कारको विषयमा बोल्न नजान्दा विवादमा फसेकी थिइन् । उनको चर्को आलोचना मात्र भएन सामाजिक संजालदेखि ट्रोलसम्मको निसानामा परिन् । पछि बोली सच्याएपछि विवाद बिस्तारै सेलाएको थियो । त्यो कुराले गर्दा अझै पनि उनी राम्रोसँग खुल्न सकेकी छैनन् । अहिले फेरि अभिनेता रमेश उप्रेती बलात्कारको विषयमा दिएको अभिव्यक्तिले विवाद तानिएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा ‘बलात्कार हुने वित्तिकै कराउनु र चिच्याउनु प¥यो या भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्छ । एक वर्षपछि उजुरी दिएर हुँदैन’ भनेर दिएको अभिव्यक्तिले उनी विवादमा तानिएका छन् । उक्त कार्यक्रममा उनले ‘कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्नु राम्रो होइन’ भन्ने तर्क समेत अगाडि सारेका छन् ।

अन्तर्वार्तामा अदालतको न्यायाधीश बनेर पललाई निर्दोष ठहर गर्न समेत भ्याएका उनले पलको नाबालिगसँगको सम्बन्ध बलात्कार नभएको दाबी गर्दै पल पीडक नभएको समेत बताएका छन् । उनले पल अहिले पुर्पक्षमा हुनुलाई समयको परीक्षाको रुपमा तर्क गरेका छन् । उनले भनेका छन् ‘कहिले काहिँ राम्रो मान्छेले पनि परीक्षा दिनुपर्छ ।’ बलात्कार हुने वित्तिकै कराउनु वा चिच्याउनु पर्छ भन्ने रमेशको अभिव्यक्तिपछि उनको सामाजिक संजाल लगायत चौतफी चेतनास्तर र मानसिकता प्रश्न उठाइएको छ । कतिपयले उनको अभिव्यक्तिलाई पुरातनवादी सोच र पुरुषवादी मानसिकताको असली अनुहार भनेर पनि व्याख्या गरेका छन् । उनको अभिव्यक्तिको बिरोध नेपाली कलाक्षेत्रका अभिनेत्री पनि देखिएका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले रमेशले दिएको अभिव्यक्तिको भिडियो क्लिप इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै यो उनको बोलीलाई नेपालका अधिकांश मानिसहरुको मानसिकता र रवैया भनेकी छन् । अर्की अभिनेत्री बेनिशा हमालले ‘के बोलेको’ भन्दै रमेश उप्रेतीलाई प्रश्न गरेकी छन् । अभिनेत्री दुबैले रमेशलाई प्रश्न समेत गरेका छन् ‘बलात्कार कस्तो हुनुपर्छ त रु’