नियम बिपरित यात्रु बोक्दै निजि कार र स्कर्पियो ।

असार १२, २०७९


आईतबार बिहान तुलसीपुरको विद्युत कार्यालय अघि एउटा कार रोकियो । साविक लुम्विनी अन्चल यातायात कार्यालयमा दर्ता भएको रातो नंवर प्लेटको रातै कार चालकले बोलिरहेका थिए, बुटवल..बुटवल…बुटवल….. रु ५ सय भाडा । ती वोलिरहेका व्यक्ति चालक मात्रै हुन वा मालिक हुन् ठम्याउन सकिदैनथ्यो ।

सार्वजनिक यातायात प्रालिका कर्मचारी आएर धपाएपछि मात्रै सो कार यात्रु नलिएरै घोराही तर्फको यात्रामा लाग्यो । तुलसीपुरकै विपि चौक र गुम्राह चौकमा पनि यस्तै रातो प्लेटका निजि कार, स्कर्पियो, वलेरो गाडिहरुले पनि नेपालगन्ज नेपालगन्ज भन्दै यात्रुहरु खोजिरहेका प्रसस्तै भेटिन्छन् । ती गाडिहरु उताबाट रिजर्भमा यात्रुहरु ल्याएर आएका हुन सक्छन्, त्यसैले उता फर्कदा सार्वजनिक यातायातकै भाडामा उनीहरुले यात्रु फकाइरहेका देखिन्छन् । दाङबाट वाहिर जानकालागी मात्र होइन, नेपालगज्नको पुस्पलाल चौकमा पनि यसरीनै दैनिक जसो यात्रुहरु खोजिरहेका निजि कार र स्कर्पियोहरु देखिन्छन् । उनीहरुले पनि यात्रुहरुलाइ प्रतिव्यक्ति रु ५ सयमा नेपालगन्जबाट तुलसीपुर बोकिरहेका छन् । केहि स्कर्पियो मालिकहरुले त पछिल्लो समयमा आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फतनै यात्रु खोज्ने अभ्यास थालेका छन् ।

कोरोना भाइरसको संक्रमण ताका चर्को भाडामा राजधानी सम्म पुग्ने अभ्यास थालेका ती निजि सवारी धनीहरुको लत अहिले सार्वजनिक बसका यात्रु खोस्नेमा बसेको छ । यसरी खुलेआम रातो प्लेटका कार स्कर्पियोहरुले यात्रु बोकिरहंदा यातायात क्षेत्रलाइ समृद्ध बनाउने जिम्मा पाएका यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी तथा स्थानिय प्रशासन मौन बसेका देखिन्छन् । यसरी निर्वाध रुपमा चल्ने रातो प्लेटका सवारी साधन९लाल यातायात सेवा०ले सार्वजनिक यातायात व्यवसायीलाइ ठुलो धक्का दिएको छ । ती निकायहरु मौन बस्दा यस्ता गाडि मालिकहरु सवारी बोक्न हौसिएका छन् । यसको धक्का सार्वजनिक यातायात व्यवसायीहरुलाइ परेको छ । सार्वजनिक यातायात व्यवसायीहरुले जति विरोध गर्दापनि यो प्रबृत्ति रोकिएको छैन । साना गाडि चढ्न चाहनेहरुकालागी पनि सार्वजनिक यातायात सेवा नभएको भने होइन ।

दाङकै यातायात व्यवसायीहरुले बैधानिक रुपमा आफ्नो स्कर्पियोलाइ कालो प्लेटको बनाएरै रुट वा रिजर्भमा सेवा दिइरहेका छन् । रातो प्लेटका सवारी साधनलाइ यात्रु नबोक्न भन्दै यातायात व्यवसायीहरुले राजमार्गको चोकचौकमा अवरोध गर्ने सम्म पनि गरे । तर पनि रातो प्लेट गाडिहरुले यात्रु चोर्ने काम भने रोकिएको छैन । यहि प्रसंगमा यातायात व्यवसायीहरु फेरी आक्रोशित भएका छन् । यो सन्दर्भमा दाङमा क्रियाशिल त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालि, अम्विकेश्वरी सार्वजनिक यातायात व्यवसायी प्रालि तथा तुलसीपुर टेक्सि तथा माइक्रो मिनिबस बस व्यवसायी प्रालिले सार्वजनिक रुपमा विज्ञप्ती जारी गर्दे यस्तो प्रवृत्तिलाइ रोकाउन संबन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् । त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका प्रशासनिक सचिव मीनप्रकाश शर्मा प्रकाश भट्ट, तुलसीपुर टेक्सी तथा मिनि माइक्रो बस व्यवसायी प्रालिका अध्यक्ष पवन बुढाथोकि तथा अम्विकेश्वरी यातायात प्रालिका सचिव घनश्याम बस्नेतले संयुक्त विज्ञप्ती जारी गरी रातो प्लेटका सवारीसाधनहरुले सार्वजनिक रुपमा यात्रुहरु नबोक्न आग्रह पनि गरेका छन् ।

साथै यो काम नरोकिए कडा प्रतिवाद गर्ने पनि उनीहरुले चेतावनी दिएका छन् । साथै ती प्रालिहरुले जारी गरेको विज्ञप्तीको बोधार्थ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी तथा प्रादेशिक यातायात व्यवस्था कार्यालय तुलसीपुरलाइ पनि दिइएको छ । रातो प्लेटका निजि स्कर्पियो तथा कारले मात्र होइन, अटोहरु पनि आफुले पाएको रुटपरमीट भन्दा वाहिर छाडा शैलिमा चल्दा पनि यातायात व्यवसायीहरु मारमा परेका छन् । बुटवल, नेपालगन्ज लगायतका शहरहरुमा अटोलाइ राजमार्गमा निर्वाध रुपमा गुड्न बन्देज छ । तर यहां त तुलसीपुर उपमहानगरपालिका भित्र मात्रै चल्ने अनुमती पाएका अटोहरुले यात्रु बोकेर जिल्लाका कुना कुना सम्म निर्वाध रुपमा कदिरहेका छन् । यात्रुहरुबाट चर्को भाडा लिएर अटोहरु चलिरहदा यसलाइ निगमन गर्ने कुनै निकाय छैन । अटो जहातही गुडिदिंदा दुर्घटनाको जोखिम पनि दिनहु बढिरहेको यातायात व्यवसायी पवन बुढाथोकिले बताएका छन् । अटोको सन्चालन विधिलाइ कार्यान्वयनमा ल्याउन पनि उनले स्थानिय प्रशासनलाइ आग्रह गरेका छन् ।

प्रादेशिक यातायात कार्यालय राप्तीले भने स्थानिय तहले सिफारीस गरेवमोजिमनै रुट परमिट दिने जनाएको छ । कुन रुटमा चलिरहेको छ, नियम सम्मत चलेको छ छैन भनेर ट्राफिक प्रहरीले निगमन गर्ने पनि प्रादेशिक यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख प्रदिप खनालले बताए । रुट परमिटकालागी स्थानिय पालिकाले गरेको सिफारीसका आधारमा हुने पनि उनले गोरक्षलाइ बताएका छन् । ट्राफिकले नियम सम्मत सन्चालन नभएकालाइ जरीमाना काट्ने हो । हामीले यो विषयमा चाहेर पनि जनशक्तिको अभावमा नियमित अनुगमन गर्न सकिरहेका छैनौं, यातायात कार्यालयका प्रमुख खनालले भने । ट्राफिक प्रहरीले भने न अटोको रुटपरमिटमा विशेष ध्यान दिने गरेको छ नत रातो प्लेटका सवारीसाधनहरुले यात्रु बोकिरहदा कारवाहि गर्न सकेको छ ।