भोलि घोराहीमा सिनेमा साक्षरता कार्यक्रम हुँदै

चैत २०, २०८०


दाङ, चैत २० । घोराहीमा सिनेमा साक्षरता कार्यक्रम हुने भएको छ । फिल्म पढाउने अस्कर कलेजको देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ अन्तर्गत भोलि घोराहीमा सिनेमा साक्षरता कार्यक्रम हुन लागेको हो ।

विद्यार्थीहरुलाई सिनेमाका बारेमा जानकारी दिने उद्देश्यले भोलि बिहान ११ वजे घोराहीस्थित टि थ्री होटेलमा सिनेमा साक्षरता कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक हेमन्त गौतमले जानकारी दिनुभयो । चैत १४ गते बिर्तामोडबाट सुरु भएको अभियान बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवलमा सम्पन्न भई आज घोराहीमा सञ्चालन हुन लागेको हो ।

अभियान पोखरामा गएर समापन हुने कलेजका प्राध्यापक रामराजा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले अभियान सञ्चालन गरेको प्राध्यापक दाहालले जानकारी दिनुभयो । सिनेमाका अधिकांश गतिविधि राजधानीकेन्द्रित भएकाले काठमाडौंबाहिर यस्ता अभियान गर्नुपर्ने आवश्यकता देखेको दाहालले बताउनुभयो ।

अभियानले सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरु, सिनेमा इतिहास, चरित्रबारे कार्यशाला गर्नेछ । कार्यशालामा कलेजबाट दीक्षित र पढिरहेका दुई विद्यार्थीको फिल्मसमेत देखाइने तयारी छ । नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरेर सिनेमा साक्षरता अभियान गर्दैछौं, प्राध्यापक दाहालले भन्नुभयो ।