आईसिसीको ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा सन्दीप लामिछाने

असोज २०, २०७८


असोज २०, नेपाली लेगस्पिनर सन्दीप लामिछाने आईसिसीको प्लेयर अफ द मन्थको मनोयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले सेम्टेम्बरका लागि सन्दीपलाई समेट्दै प्लेयर अफ द मन्थका लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो । प्लेयर अफ द मन्थका लागि सन्दीपसँग बंगलादेशी स्पिनर नसुम अमद र अमेरिकी विस्फोटक ब्याट्सम्यान जस्करण मल्होत्रा पनि नोमिनेसनमा परेका छन् । आईसिसीका प्लेयर अफ द मन्थको नोमिनेसनमा पर्ने सन्दीप दोस्रो नेपाली क्रिकेटर हुन् ।

यसअघि नेपाली ओपनर कुशल भुर्तेल पनि नोमिनेसनमा परेका थिए । ओमान भ्रमणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा सन्दीप आईसिसीको प्लेयर अफ द मन्थको नोमिनेसनमा परेका हुन् । ओमान भ्रमणमा सन्दीपले ६ खेलमा कुल १८ विकेट लिएा थिए। आईसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजको तयारी लागि खेलिएको पपुवा न्युगिनी विरुद्धको एक दिवसीय सिरिजको एक खेलमा सन्दीपले ११ रन खर्चेर १ विकेट लिएका थिए । सोही प्रदर्शन पछि सन्दीप आईसिसी एकदिवसीय क्रिकेटको बलिङ र्‍याङकिङमा सन्दीप ७९ औं स्थानमा उक्लिएका छन् ।

यस्तै, नसुम अहमदले न्युजिल्यान्डविरुद्धको टि–२० सिरिजमा उत्कृष्ट प्रर्दन गरेका थिए । सो सिरिजमा उनले कुल ७ विकेट लिएका थिए । उनले सिरिजको चौथो खेलमा १० रनमात्र खर्चेर ४ विकेट लिएका थिए । नसुमको उत्कृष्ट प्रदर्शन मद्दतमा बंगलादेशले सिरिज ३–२ले जितेको थियो । यस्तै, मल्होत्राले पनि आईसिसी विश्वकप लिग२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पपुवा न्युगिनीविरुद्ध १७३ रन बनाएका थिए । सो सिरिजमा उनले ६ खेलमा कुल २६१ रन बनाएका थिए । एकदिवसीय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी चौथो क्रिकेटर हुन् ।