अमेरिकाले युक्रेनलाई थप घातक हतियार सहयोग गर्ने

चैत ०३, २०७८


काठमाडौं ३ चैत्र ।

अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ ।

सैन्य सहायताको निर्णयमा संलग्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले दाबी गरेअनुसार स्विचब्लेड(३०० ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्ने छ । यसले धेरै टाढा रहेका दुश्मनमाथि पनि सटिक प्रहार गर्नसक्ने समाचारमा उल्लेख छ ।

बुधबार युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए । सम्बोधनपछि अमेरिकी सांसदहरुले उठेर जेलेन्सीप्रति सम्मान व्यक्त गरेका थिए । त्यसलगत्तै अमेरिकाले मिसाइल लगायका सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने चर्चा सुरु भएको थियो ।

जेलेन्सीको सम्बोधनको केही घण्टालगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्ति सैन्य सहयोगमा मन्जुरी दिएका थिए । यसका साथै अमेरिकाको युक्रेनमा सैन्य सहयोगको राशी बढेर एक अर्ब डलर पुगेको बीबीसीले जनाएको छ ।

युक्रेनमा रुसले आक्रमण थालेपछि अमेरिकाले त्यसको विरोध गर्दै प्रतिबन्ध घोषणा गरेको छ । बुधबार मात्रै पत्रकारहरुसँगको भेटमा बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका थिए । उनको यो अभिव्यक्तिको रुसले अस्वीकार्य र अक्षम्य भनेर आलोचना गरेको छ ।

अमेरिकाले युक्रेनलाई गरेको थप सैन्य सहयोग र अमेरिकी राष्ट्रपति बाइडनको पछिल्लो अभिव्यक्तिले रुस(युक्रेन युद्ध अझै लम्बिने अनुमान छ ।