आजदेखि मन्त्रालयगत बजेटमा छलफल हुँदै

जेठ २३, २०७९


दाङ २३ जेठ

आर्थिक वर्ष २०७९/८० को बजेटमा सोमबारदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि सोमबारबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि सोमबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो । प्रतिनिधि सभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको अन्तिम सूची तयार पार्ने भएकाले सम्भावित कार्यसूचीमा हेरफेर हुनसक्ने संसद सचिवालयले जनाएको छ ।