स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न बनेको कार्यदलले काम थाल्यो

असार ०८, २०७९


असार ८, लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न गठन गरेको कार्यदलले काम सुरू गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन टोली मंगलबार बेलुकी दाङ आएका हुन् । उनीहरू आज मीना भण्डारी बस्नेतको घरमा गएर घटनाबारे बुझ्ने तयारीमा छन् । यस्तै स्थानीय प्रहरी कार्यालयमा पनि घटनाबारे बुझ्ने तयारी रहेको छ । प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् ।

लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री वलीले गत मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलु मण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि घरभित्र पसेर कुटपिट गर्नुका साथै दराजलगायत सामान तोडफोड गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि वलीको स्वास्थ्यमा समस्या आएको भन्दै लुम्बिनी प्रदेश अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आफू र छोरीमाथि कुटपिट भएको भन्दै मीना बस्नेतले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।