रुसले कब्जा गरेको खेअरसनबाट सर्वसाधारणको उद्धार गर्न पुटिनको स्वीकृति

कार्तिक १९, २०७९


तुलसीपुर, १९ कार्तिक । दक्षिणी युक्रेनमा रुसले कब्जा गरेको खेअरसनका केही भागबाट सर्वसाधारणलाई उद्धार गर्ने प्रक्रियालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक स्वीकृति दिएका छन्।

किएभका सैन्य बलहरू उक्त रणनीतिक बन्दरगाह सहरमा निरन्तर अगाडि बढिरहेका छन । पुटिनले “सर्वसाधारण जनताले दुःख पाउन नहुने“ बताउँदै त्यहाँका जोखिमपूर्ण क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई अन्यत्र जान दिइनुपर्ने बताएका हुन्।

कम्तीमा ७०,००० जना मानिसहरूलाई पहिले नै खेअरसनबाट स्थानान्तरण गरिएको विवरणहरू सार्वजनिक भएका थिए। रुसले फेब्रुअरीमा आक्रमण सुरु गरेयता मस्कोले कब्जामा लिन सकेको यो एक मात्र प्रमुख सहर हो। गोलाबारी र आक्रमणको जोखिममा रहेका नागरिकहरूलाई “हटाउनु पर्छ“, पुटिनले एकता दिवसको बिदाका दिन मस्कोको रेड स्क्वायरबाट भने।

किएभले रुसले बलपूर्वक युक्रेनी नागरिकहरूलाई‌ निर्वासित गरेको आरोप लगाएको छ। युद्ध अपराध मानिने यस्तो कार्यलाई मस्कोले खण्डन गर्दै आएको छ।  रुसले युक्रेनभरिका नागरिक पूर्वाधारमा निरन्तर गरिरहेको क्षेप्यास्त्र र ड्रोन हमलाहरूले ठूलो हताहत र क्षति निम्त्याएको छ र किएभलाई बारम्बार विद्युत् आपूर्ति कटौती गर्न बाध्य बनाएको छ।  पुटिनको भनाइ बिहीवारको विवरण पश्चात् आएको हो जसमा रुसी सैनिकहरूले पनि खेअरसन छाड्दैछन् भन्ने बताइएको थियो। यदि त्यसो भएको खण्डमा युद्धबाट रुस पछि हट्न वाध्य भएको महत्वपूर्ण क्षण हुनसक्छ।

यस क्षेत्रमा क्रेमलिनले नियुक्त गरेका अधिकारी किरिल स्ट्रेमोसोभले मस्कोले यस क्षेत्रबाट आफ्ना सेनाहरूलाई हटाउनसक्ने सम्भावनाबारे रुसी मिडियासँग बताएका छन्। युक्रेनी अधिकारीहरूले भने यस्तो कदम जोखिमपूर्ण क्षेत्रमा रहेका आफ्ना सैनिकहरूलाई प्रलोभनमा पार्ने पासो हुन सक्ने चेतावनी दिँदै सतर्क रहन भनेका छन्। फेब्रुअरी २४ मा रुसले छिमेकी राष्ट्रमाथि आक्रमण सुरु गरेपछि खेअरसनलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो। तर, पछिल्लो समय युक्रेनी सेनाले बिस्तारै सहरको बाहिरी भागलाई पुनः आफ्नो नियन्त्रणमा लिन सुरू गरेको छ।

गत महिनाको मध्यतिर पहिलो पटक नागरिकहरूलाई खेअरसन छोड्न आग्रह गरिएको थियो। किनकि रुसी सेना त्यस सहरमा प्रतिरक्षात्मक बनेको थियो। पछि सैन्य कमान्डरहरूले उनीहरूले त्यहाँ अपेक्षित लडाई सुरु हुनुअघि नै सहरका बासिन्दाहरूलाई निकासी गर्ने कार्य पूरा गरेको बताएका थिए।

रुसले खेअरसन क्षेत्र र अन्य तीन युक्रेनी भूभागहरूलाई आफ्नो क्षेत्रको रूपमा दाबी गर्दछ। यद्यपि, उसले दाबी गरेकामध्ये कुनै पनि क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा लिएको छैन। बरु आफ्नो दाबीलाई प्रमाणित गर्न स्थानीय “जनमत सङ्ग्रह“ आयोजना ग¥यो जसको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो।