कर्णालीमा एमाले र सुदूरपश्चिममा मा‌ओवादी निल

मङि्सर ०९, २०७९


मंसिर ९, सुदूरपश्चिममा माओवादी केन्द्र र कर्णाली प्रदेशमा नेकपा एमाले प्रतिनिधिसभामा निल हुने भएका छन् । दुई ठूला कम्युनिस्ट पार्टीले यहाँ बिउ जोगाउन नसक्ने पक्का भएको छ । सुदूरपश्चिमका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो । उसले कैलाली ३ र २ कञ्चनपुर १ र बैतडीमा आफ्ना उम्मेदवार खडा गरेको थियो । तर एक ठाउँबाट पनि जित निकाल्न सकेको छैन ।

सुदूरपश्चिममा माओवादी निल हुँदा कर्णालीमा एमालेको हालत पनि उस्तै छ ।

एमालेले प्रतिनिधिसमाभा कर्णालीका सबै सिटमा उम्मेदवार खडा गरेको थियो । तर एक सिटमा पनि जित निकाल्न सकेको छैन । हुम्ला, कालीकोट र मुगुमा मतगणना जारी छ । तर अहिलेसम्म प्राप्त मत हेर्दा यी ठाउँमा पनि एमालेले जित निकाल्न सक्ने सम्भावना कमजोर देखिएको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी हुनुबाहेक अरु क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हुम्ला, कालीकोट र मुगुमा पनि सत्ता गठबन्धनका उम्मेदवार जित नजिक छन् ।