लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन माओवादीमै फर्किए

पुष २०, २०७९


पुष २०, तत्कालीन पाँचदलीय गठबन्धनमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उठेर जितेका प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’ आत्मालोचनासहित माओवादी पार्टीमै फर्किएका छन् । रोल्पाको प्रदेश सभा क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनबाट टिकट पाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । यद्यपि माओवादी पंक्तिको भित्रभित्रै उनलाई समर्थन रहेको थियो ।

दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका पुनले बुधबार बिहान माओवादी उपमहासचिव वर्षमान पुनसँगै बालुवाटार गएर अध्यक्ष प्रचण्डलाई भेटेर पार्टीमा फर्किएका हुन् । गठबन्धनको उम्मेदवारविरुद्ध बागी बनेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो । पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । सिजलको प्रवेशसँगै लुम्बिनी प्रदेशसभामा माओवादीको सांसद संख्या १० पुगेको छ ।