पहिलो हप्ता सुनसान सिनेमा हल

पुष २०, २०७७


कोरोना महामारीअघि सिनेमा हलमा प्रत्येक हप्ता नयाँ फिल्म टुट्दैन थिए । दुईभन्दा बढी फिल्म एकसाथ प्रदर्शनमा नआएको सम्भवतः कुनै हप्ता हुँदैन थियो । तर, कोभिडका कारण ९ महिना बन्द भएर पुष १० गतेबाट खुलेको सिनेमा हलमा नयाँ फिल्मको खडेरी लागेको छ । तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालक पुरानै फिल्म चलाउन बाध्य छन् ।

सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाएपछि हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले पुष १० गतेबाट हल खोल्ने स्वःघोषणा गरेको थियो । लामो समयपछि सिनेमा हल खुलेकोमा फिल्मकर्मीहरुले खुसी व्यक्त गरेका छन् । तर, हल सञ्चालकको अनुहारमा भने अझै खुसीको रेखा देखिएको छैन । किनभने, सिनेमा हलमा दर्शकको उपस्थिति पट्यारलाग्दो छ ।

सिनेमा हलहरुले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए पनि दर्शकहरुले पुरानो फिल्म हेर्न जाने जाँगर चलाएका छैनन् । गएको हप्ताबाट दुई नेपाली फिल्म ‘आमा र सेन्टी भाइरस’ प्रदर्शनरत छन् । यी दुई फिल्म कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका थिए । नयाँ फिल्म नहुँदा दोस्रो हप्ता पनि हल सञ्चालकहरु यिनै दुई फिल्म चलाउन बाध्य छन् ।

नयाँ फिल्म प्रदर्शनमा नआएसम्म सिनेमा हलमा दर्शकको चाप नबढ्ने हल सञ्चालकहरुको भनाई छ । तर, तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गरेर जोखिम उठाउने पक्षमा छैनन् । ९ महिनापछि सिनेमा हलमा दर्शकले माघ १ गते नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न पाउनेछन् । यो फिल्मले हलमा दर्शकको भीड ओराल्न सफल भए सिनेमा हललाई ठूलो राहत मिल्नेछ ।