प्रधानमन्त्रीकै कार्यशैलीले पार्टीमा धेरै विवाद उत्पन्न भयो : वामदेव गौतम

पुष २३, २०७७


नेकपाका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले प्रधानमन्त्रीका कारण नेकपामा धेरे विवाद उत्पन्न भएर राजनीतिक संकट उत्पन्न भएको दाबी गरेका छन् । राष्ट्रिय सभाको हिउँदे अधिवेशनअन्तर्गत दोस्रो बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीकै कार्यशैलीले पार्टीमा अनेकौँ विवाद उत्पन्न भएर राजनीतिक संकट उत्पन्न भएको दाबी गरेका हुन् ।

उनले भने, ‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ । उहाँकै कार्यशैलीले पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराए । मैले धेरैपटक कार्यशैली सुधार गर्न सुझाव दिएको छु । त्यस्तै, उनले नेकपा विभाजनको औचित्यसमेत नभएको दाबी गरेका छन् । उनले भने, ‘नेकपा विभाजनको कुनै औचित्य छैन । पार्टी र नेतृत्वको शैलीका विषयमा कुरा उठाएँ ।

म पार्टीमा एक विरोधीका रूपमा प्रस्तुत भएँ । आलोचना गर्नेहरुको बिचमा रहेर अविश्वासको प्रस्तावलाई असफल गराएको थिएँ । उनले आफूले नेकपा एकीकरण प्रक्रियामा उल्लेखनीय योगदान गर्दा गर्दै प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको विषयमा पूर्वजानकारी नपाएकामा दुःख व्यक्त गरेका छन् ।