कोरोनाविरुद्ध लड्न भट्टराई र गिरीलगायतको संयोजन समिति

चैत २३, २०७६


कोभिड(१९ विरुद्धको लडाइँमा सरकारका कामलाई रचनात्मक सहयोग पुर्याउन र आवश्यक सुझाब दिन राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाको पहलमा संयोजन समिति बनाइएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राजनीतिज्ञ एवं सांसद प्रदीप गिरिलगायतले कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) नाम दिइएको समिति बनाएका हुन् । जुन समितिमा जनस्वास्थ्य, अर्थलगायतका विभिन्न क्षेत्रमा १७ जना छन्।

अभियानले विज्ञप्ति जारी गर्दै महामारीको संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न प्रयास थालिएको बताएको छ।

‘कोरोना महाव्याधिलाई व्यवस्थापन गर्ने सवालमा नेपाल सरकारका विभिन्न कमी–कमजोरी भए पनि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र कोरोना महाव्याधिले विभिन्न तरिकाले संक्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो,’ कोमविसापले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।