२३ चैत, काठमाडौं । नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न अनाकानी गरेको छ ।
नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंककित बनेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुर्याउँदै गर्दा चीनको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुन नसक्ने जानकारी केरुङ प्रशासनले गराएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । तर, यस्तो जानकारी लिखित चाहिँ नभएको उनले बताए ।
‘कोरोना भित्रन नदिन उच्चतम् सुरक्षा अवलम्बन गर्ने चीनको केन्द्रीय सरकारको नीतिअनुसार अहिलेकै अवस्थामा नाका खुला गर्न नसकिने जानकारी त्यहाँको प्रशासनबाट आएको छ,’ भन्सार प्रमुख खड्काले अनलाइनखबरसँग भने ।
माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर–दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई भएको उनले बताए ।
नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।
नेपालकै कारण कोरोना फैलिने डरले चिनियाँ पक्ष नाका सञ्चालन गर्नेबारे अनिच्छुक देखिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।
‘हामीले भन्सार प्रमुखसँग नियमित छलफल गरेका छौँ, हाम्रो तयारी अन्तिम अवस्थामा छ, तर चिनियाँ पक्षले आनाकानी गरेको हो कि भन्ने जानकारी आएको छ’ उनले भने ।
नेपाल भारत खुल्ला सीमा र भारतमा तिब्र गतिमा फैलिएको कोरोनाको असर नेपाल नाका भएर आफ्नो मुलुकमा आउँछ कि भन्ने चिन्ता चिनियाँ अधिकारीले व्यक्त गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।
‘व्यापारिक आवागमनले कोरोना नफैलियोस् भन्नेमा उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ, केही समय माग्नुभएको छ, सायद छलफलमा हुनुहुन्छ,’ भन्सार प्रमुख खड्काले भने ।
चीनमा कोरोना फैलिएपछि बन्द गरिएको चीनतर्फको व्यपारिक नाका खुला गर्ने निर्णय सरकारले चैत १२ गते गरेको थियो ।