फुर्सद भएर सिर्जना हुन्छ भन्ने हुदैन : गीतकार लोकराज अधिकारी

बैशाख ०४, २०७७


विगत दुईदशक देखी नेपाली गीति लेखन र सञ्चारकर्ममा सक्रिय दाङ घोराहि ४ लक्ष्मीपुरका लोकराज अधिकारी नेपालका प्रसिद्ध गीतकारका रुपमा स्थापित नाम हो । गीतकार अधिकारीले लेखेका स्वदेश गीत , गजल, लोक दोहोरी, आधुनिक, र चलचित्रका गरी गीतहरुको संख्या सय नाघेको छ । तिम्ले पराई ठाने पछि , मर्छु बरु छटपटिमा, रुपै मोहनी, रुपौली रानी, ब्यर्थै रहेछ, जसो परे पर्ला, फेरी एक हुन, जे गर्दा नि मिल्दैन भने, टालाटुली बाटुली , बाजा बजाउदै लगायतका दर्जनौ गीत श्रोता दर्शकले अत्यधिक मनपराएका गीतहरु हुन । देश बिदेशमा भएका अवार्डहरुमा उनका गीतले उनलाई उत्कृष्ट गीतकारको अवार्ड दिलाएका छन । बिभिन्न समयमा देश भित्र भएका म्यूजिक खवर म्यूजिक अवार्ड, बिन्दबासिनी म्यूजिक अवार्ड , सगरमाथा म्यूजिक अवार्ड, नेशनल पावर न्यूज म्यूजिक अवार्ड,छाँयाछबि म्यूजिक अवार्ड, अमिन राष्ट्रिय म्यूजिक अवार्ड ,राष्ट्रिय संगीतकर्मी संघ राष्ट्रिय म्यूजिक अवार्डमा सर्बोत्कृष्ट गीतकारको अवार्ड जितेका गीतकार अधिकारीले थाइल्याण्डमा सम्पन्न छाँयाछबि अन्तराष्ट्रिय अनर अवार्ड,कतारमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड, भारतमा सम्पन्न नेपाली गौरव अवार्डमा सर्बोेकृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन । त्यसैगरी केहि समय पहिले दुबईमा सम्पन्न दोश्रो छाँयाछबि अन्तराष्ट्रिय अनर अवार्डमा दशकका गीतकारको अवार्ड बाट अवार्डेड भैसकेका छन । काठमाण्डौलाई कर्मथलो बनाएर गीतिकर्म र संचारकर्म गरिरहेका गीतकार अधिकारी यतिबेला भने बन्दाबन्दीको पालना गर्दै घरमै बसेका छन । प्रस्तुत छ गीतकार संग सम्पूर्ण कुराका लागि गरिएको अन्तरबार्ता  ।

लकडाउन मा के गर्दै हुनुहुन्छ ?
म १० गते दाङ आएको हु । काठमाण्डौ बाट तुलसीपुर हुदै घरमा आइपुगेको हु । आए देखी म घर भित्रै छु । कोरानाको यो त्रास बाट पुरै बिश्व आक्रान्त छ । यसको असर सबैतिर परेको छ । दैनिकी बदलिएको छ सबैको । यो कठिन समयमा यसबाट सुरक्षीत हुने भनेको सामाजीक दुरी कायम गर्नु नै हो । त्यसकारण म सरकारले गरेको निर्णय पालना गर्दै पहिलेको दैनिकी सबै बिर्सेर नयाँ दैनिकीमा अभ्यस्त हुदैछुु ।

कतिको गाह्रो हुदो रहेछ यस प्रकारको दैनिकी, तपाई जस्तो कुदिरहनुपर्ने मान्छेलाई?
एक हप्ता सम्म त फुर्सदिलो भैयो शरिरले पनि रेष्ट पाइराको छ भन्ने लाग्थ्यो । तर बिस्तारै अबस्था लम्बिदै जाँदा एकखालको छटपटि भैरहेको छ । त्यो भन्दा ठूलो पिरलो संक्रमीतको संख्या बढदै गएको थाहा पाउदा भएको छ । अन्यखालको अबस्था भए म राहत र उद्धारमा खटिन्थे समाजसेवामा आनन्द मिल्छ मलाई । यो प्रकोपमा त्यो पनि संभव छैन । घर भित्र बस्नुको बिकल्प नै नभए पछि अब गाह्रो भयो भनेर पनि के गर्नु उपाए नै छैन ।

कसरी बिताउनुभएको छ दिनहरु ?
बिहान हल्काफूल्का ब्यायाम गर्छु । इन्टरनेट साथी भएको छ । समाचारहरु हेर्छु । पुराना सिनेमाहरु पनि हेर्छु । गीत संगीत हेर्छु सुन्छु । राती नसुुतुन्जेल अनलाइन न्यूज हरु हेर्छु समाजीक सञ्जालमा साथी भाई संग अन्तरक्रिया गर्छु ।

फेसबुकमा डमबेल उठाउदै गरेको भिडियो पोष्ट गर्नु भाको थियो देखाउनको लागि हो कि साच्चै हो ?
हेहेहे देखाउनको लागि हैन । काठमाण्डौ हुँदा राती अबेर सुत्ने बिहान अबेर उठने बानि बसेको थियो । अहिले त्यो बानी छुटेका्े छ । बिहान केहि किलोमिटर दौडन्छु पनि । अनि समान्य ब्यायाम संगै डोरी खेल्छु । त्यो भिडियो पनि त्यसै संग जोडिएको हो । बानि नपर्दा सम्म हात, काँध दुख्दो रैछ । यो पनि सिकाइ भएको छ ।

सिर्जनाको काम कत्तिको हुन्छ अहिले त पुरै समय छ तपाइ संग ?
मेरो हकमा फुर्सद छ गीत लेख्छु भनेर बसेर सिर्जना हुदैन । अरुको हकमा हुन सक्छ । गीत फुर्नका लागि एकान्त हुनुपर्ने फुर्सदिलो हुनु पर्ने रहेनछ । त्यसो हुदो हो त यो समयमा मैले एक दर्जन लेखिसक्नु पर्ने । मुड आउना साथ लेख्ने गरेको छु । यो बीचमा केहि थिम दिमागमा घुमिराको छ । बनाउने सोचेको छु । केहि छोटा मुक्तक कबिता त लेख्दै पोष्ट गर्दै पनि गरेको छ । एउटा गीतको स्थाई र अन्तरा बनाए पनि पुरा भाको छैन । दिनदिनै कोरोनाको प्रभाव देख्दा मुड नै अर्कै हुदो रैछ । बरु यो बीचमा मैले २०५८ सालदेखी लेखेका गीतहरुको सुची त्यसमा जोडिएका संगीतकर्मी र कलाकर्मीको नामावली चाहि तयार पारे । त्यो एउटा महत्वपूर्ण संकलन भयो भन्ने ठान्छु । लकडाउनकै समयमा मेरो दुई नयाँ गीत बाजा बजाउदै भिडियो सहित र क्या बात अडियो मात्र लिरिकल सार्बजनिक पनि गरे ।

तपाइले यस्तो अबस्थाकै बीचमा बास्तवमा अहिलेको अबस्था भन्दा पुरै बिपरित सन्दर्भको बाजा बजाउदै भन्ने गीत सार्बजनिक गर्नुभो प्रसस्त चर्चा पनि पायो सोच्नु भाको थियो हिट हुन्छ भनेर ?
गीत राम्रो बनेको थियो । भिडियो पनि सोचेको जस्तै बन्यो । रिलिज गर्ने बेला लकडाउन भैदियो । पुरै टिम अन्यौलमा थियौ । जोखिम मोल्ने कि नमोल्ने भन्ने छलफल भयो बैशाख तिर गर्नेकी भन्ने । त्यसपछि अर्जुन जि, म, बलेजी र सुजाता बैनिले एउटा निष्कर्ष निकाल्यौ दुखको साथी सुखको साथी संगीत बाहेक हरु छैन । मान्छे तनावमा भाको बेला सुन्ने हेर्ने राम्रा भिडियो र मिठा गीत नै हो । हाम्रो भिडियो पनि राम्रो छ अडियो पनि राम्रो छ त्यसकारण बाजा बजाम भन्यौ । मैले गीतको बारेमा जानकारी गराउदै चैतमै बाजा बज्ने पक्का भो भनेर गरेको पोष्टमा केहिले बेमौसमी बाजा भनेर पनि टिप्पणी गर्नु भो । ११ गते मेरो जन्मदिन १० गते हामीले रिलिज गर्यौ । पिरलो थियो मनमा । तर सबै पिरलो २४ घन्टामै मेटियो गीतले त रेकर्ड नै राख्यो ३६ हजार भ्यूजमै ट्रेन्डिङमा, ४२ हजार भ्युज हुदा ४२ औ नम्बर ट्रेन्डिङमा । यस्तो नेपाली गीतमा यस अघि भाको छैन । ३ हप्तामै मिलियन प्लसको माया पाएको छ । धन्यबाद छ तपाइ हरु सबैलाई ।

अन्तमा सम्पूर्ण कुरा नयाँ साल देखी शुरु गरेको अनलाइन हो यहाको सुझाव के छ ?
सर्वप्रथम त क्या बात क्या बात भन्छु । यो मेरो २०७६ सालमा सर्बाजनिक भएका गीत मध्य अन्तिम गीतको थेगो पनि हो । नयाँ सालमा नयाँ नयाँ लिएर आउने नै छु । त्यसैगरी नयाँ सालमा सम्पूर्ण कुरा शुरु गर्ने सम्पूर्ण टिमलाई बधाइ र शुभकामना दिन्छु । पत्रकारीताका मूल्य र मान्यतामा अडिग रहेर आम नागरिकको सुख दुखको बिश्वासिलो साथी बन्दै र लोकतान्त्रिक बिधि र पद्धतीलाई बलियो बनाउदै समृद्ध समाज निर्माणमा खबरदारी र पहरेदारी गरिरहन सकोस । सम्पूर्ण नेपालीका कुरा अटाओस । निरन्तरताको कामना गर्दछु ।