१४ जिल्लाका १८ विद्यालयलाई पछि पार्दै मिड वेस्ट प्वाइन्ट एकेडेमी बन्यो ‘बेस्ट प्लाटुन’
दाङ । असोज ३०, दाङको शान्तिनगर गाउँपालिका–७ मा रहेको मिड वेस्ट प्वाइन्ट एकेडेमीले राष्ट्रिय क्याडेट कोर (एनसीसी) को ५२औँ जुनियर डिभिजन तालिमअन्तर्गत पहिलो क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्दै ‘बेस्ट प्लाटुन’को उपाधि जित्न सफल भएको छ ।

पश्चिम तालिम शिक्षालय, कोहलपुर ब्यारेकमा सञ्चालित उक्त तालिममा १४ जिल्लाका १८ वटा विद्यालय सहभागी भएका थिए । ती विद्यालयलाई पछि पार्दै मिड वेस्ट प्वाइन्ट एकेडेमीले समग्र प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो । यस सफलताले विद्यालयको प्रतिष्ठा थप उचाइमा पुर्याएको छ ।

विद्यालयले यसअघि पनि एनसीसी तालिममा उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो। पुनः ‘बेस्ट प्लाटुन’को उपाधि जित्न सफल हुनुले विद्यालयमा विद्यार्थीहरूको अनुशासन, नेतृत्व क्षमता, मेहनत र सामूहिक भावनाको उत्कृष्ट प्रदर्शन भएको पुष्टि गरेको छ।
यस सफलतामा नेपाली सेनाका जवान इर्फान गुरु, समन्वय शिक्षक कसम गाहा मगर, शिक्षिका लीला ओली तथा उच्च अनुशासन र मनोबलका साथ तालिममा सहभागी सम्पूर्ण क्याडेटहरूको महत्त्वपूर्ण योगदान रहेको विद्यालयले जनाएको छ। तालिमका क्रममा देखाएको लगनशीलता, अनुशासन र समर्पण नै सफलताको प्रमुख आधार बनेको विद्यालयको भनाइ छ।

विद्यालयका प्रिन्सिपल वीरबहादुर घर्तीले यस उपलब्धिका लागि सहयोग, समन्वय तथा सहजीकरण गर्ने अभिभावक, शिक्षक, प्रशिक्षक र सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन्। उनले विद्यार्थीहरूको मेहनत र सामूहिक प्रयासबाट प्राप्त यस सफलताले विद्यालयको गौरव बढाएको उल्लेख गरेका छन्।

शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गर्दै आएको मिड वेस्ट प्वाइन्ट एकेडेमीको यस सफलतालाई विद्यालयको संस्थागत उपलब्धिका रूपमा हेरिएको छ। एनसीसी तालिमले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्य र राष्ट्रप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
१४ जिल्लाका १८ विद्यालयबीच प्रतिस्पर्धा गर्दै ‘बेस्ट प्लाटुन’को उपाधि जित्न सफल मिड वेस्ट प्वाइन्ट एकेडेमीको यो उपलब्धिले दाङको शैक्षिक क्षेत्रको पहिचान थप फराकिलो बनाएको छ। साथै, यस सफलताले आगामी दिनमा पनि विद्यार्थीलाई अनुशासन, नेतृत्व र राष्ट्रसेवाको भावनासहित अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।








