म्यूजिक भिडियोमा अब प्रदीपको पालो

असार १५, २०७७


अपवाद छाड्ने हो भने नेपाली फिल्मका अधिकांश कलाकारले म्यूजिक भिडियोमा अनुहार देखाइसकेका छन् । राजेश हमाल, पूजा शर्मा, आकाश श्रेष्ठ, पल शाह, पुष्प खड्का, आँचल शर्मालगायत फिल्मसँगै म्यूजिक भिडियोको दुनियाँमा पनि चलेका नाम हुन् । एकै दिनमा छायांकन सकिने र पारिश्रमिक पनि राम्रो पाइने हुँदा यसतर्फ कलाकारहरुको आकर्षण बढ्दो छ ।  

पल शाहकै कुरा गर्ने हो भने उनले फिल्मभन्दा राम्रो कमाई भिडियोबाट गर्ने गरेका छन् । उनले एउटा भिडियोका लागि एक लाखभन्दा बढी पारिश्रमिक बुझ्ने गरेको बताइन्छ । पुष्पले पनि एक लाखसम्म पारिश्रमिक लिने गरेको चर्चा छ । तर, फिल्ममा जमेका कलाकारले म्यूजिक भिडियोमा काम गर्नुलाई राम्रो मानिन्न । यसले फिल्म करिअरलाई असर गर्ने धेरैको बुझाई छ । 

प्रदीप खड्का र पल शाह

फिल्म ‘प्रेमगीत’ पछि नेपाली फिल्ममा आफूलाई स्टारको रुपमा उभ्याएका अभिनेता प्रदीप खड्काको पनि अब म्यूजिक भिडियोतर्फ आकर्षण बढ्न थालेको छ । उनले लकडाउनको समयमा मात्र दुईवटा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘सुनौलो दिन फर्किनेछ’ उनी अभिनीत पहिलो म्यूजिक भिडियो हो । केही दिनमा उनको अर्को भिडियो पनि सार्वजनिक हुँदैछ ।  

फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन रोकिएपछि फुर्सदिला भएका उनले ‘जोनी जेन्टलम्यान’ फेम्ड निर्देशक नितिन चन्दले निर्देशन गरेको ‘जय जय नेपाल’ बोलेको गीतको भिडियोमा अभिनय गरेका छन् । सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारीको स्वर रहेको गीतको छायांकन केही दिनअघि धुलिखेलमा गरिएको थियो, जसको पोस्टर पनि सार्वजनिक भएको छ ।

प्रदीप खड्का

‘सुनौलो दिन फर्किनेछ’ गीतमा कोरोनाविरुद्धको लडाईं सबैले मिलेर लड्नुपर्ने सन्देश दिइएको थियो । ‘जय जय नेपाल’ गीतमा राष्ट्रप्रतिको प्रेमलाई दर्शाइएको हुनसक्ने पोस्टर हेर्दा अनुमान गर्न सकिन्छ । रोमान्टिक गीतमा मोडलको वरिपरि ननाचे पनि फिल्म करिअर सुखद बन्न नसकेपछि प्रदीपले म्यूजिक भिडियामा आफ्नो उपस्थिति जनाएको हुनसक्ने कतिपयको विश्लेषण छ । 

प्रदीप, नेपाली फिल्मका डिमान्डेड र महँगा अभिनेतामध्ये एक हुन् । एक फिल्मका लागि उनले ४० लाखसम्म पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । तर, ‘प्रेमगीत’ सिरिजबाहेक उनी अभिनीत कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । अब, म्यूजिक भिडियोको दुनियाँमा खाता खोलेका उनको मोडलको रुपमा कस्तो करिअर होला ? हेर्न बाँकी छ । पलजी, बजारमा तपाईंको प्रतिस्पर्धी जन्मिएको छ है !

भिडियाे हेर्नुहाेस् ।