गतिशिल हुन नसकेको कलाकार संघ!

असार २९, २०७७


चलचित्र कलाकार संघ, सम्पूर्ण कलाकारहरुको अभिभावक संस्था हो । तर, कलाकार संघलाई कलाकारहरुले आफ्नो बायोडाटा बनाउने थलो बाहेक फराकिलो नजरले हेर्न सकेका छैनन् । यसको प्रमुख कारण भनेकै, कलाकार संघले कलाकारहरुका लागि प्रत्यक्ष रुपमा प्रभावकारी काम गर्न नसक्नु नै हो । पिकनिक आयोजना गर्नु, बर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्नु बाहेक कलाकार संघको काम खासै देखिदैन । ३ बर्षमा हुने निर्वाचनको समयमा तात्ने कलाकार संघको माहोल यसपछि सेलाउँछ ।

पुराना सफल कलाकार रविन्द्र खड्का चलचित्र कलाकार संघको अध्यक्ष पदमा निर्वाचित भएर आएपछि धेरैलाई आशा थियो, कलाकार संघले गति लिनेछ । तर, रविन्द्र खड्काको कार्यसमितीले कलाकारहरुको हक हितका लागि अहिलेसम्म गतिलो तरिकाले आवाज उठाएको छैन । बरु, नेपाल सरकारले आर्थिक बर्षको बजेटमा कलाकार संघको भवन बनाइदिने घोषणा गरेपछि, यसैलाई नै ठूलो उपलब्धी मानेर यसको नेतृत्व रमाइरहेको छ । तर, कलाकारहरुले नै आफ्नो भन्न नसकेको कलाकार संघलाई नयाँ भवनले मात्र ठूलै चमत्कार हुन्छ भनेर मान्न सकिदैन ।

लक डाउनको समयमा कलाकारहरु विवादित बने । चलचित्र कलाकारहरुविच नै द्धन्द्ध देखियो । नायिका पूजा शर्मा र सुष्मा कार्कीविचको विवाद, नायक भूवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहविचको विवाद लक डाउनको समयमा नै देखियो ।

कलाकारहरुमाथि निरन्तर प्रहार भैरहेको छ । चलचित्र क्षेत्रकै मानिसहरुबाट कलाकारहरुमाथि प्रहार हुँदा पनि कलाकार संघ मौन बस्यो । चलचित्र कलाकार संघले कलाकारहरुले उजुरी गर्लान् र काम गरौला भनेर बसेको पाइन्छ । तर, कहिलेकाही विवादले चर्को रुप लिदा अभिभावक संस्थाले उजुरी नै कुरेर बस्नु हुँदैन ।

नायक भूवन केसीले साम्राज्ञीसँगको विवादको बिषयमा उजुरी दिएको पनि केही समय भैसक्यो । तर, अहिलेसम्म कलाकार संघले यो बिषयमा कुनै ठोस पहल नै गर्न सकेको छैन । कलाकार संघको काम गर्ने तरिकाबाट नायक भूवन केसी नै सन्तुष्ट नरहेको वुझिएको छ ।

यसपटक, कलाकार संघलाई आफू हुनुको औचित्य सावित गर्ने थुप्रै अवसर प्राप्त भएको थियो । तर, अभिभावक संस्थाले यसलाई अवसरको रुपमा बदल्न सकेनन् ।

सायद, कलाकारहरुलाई पनि कलाकार संघले आफू हुनुको औचित्य सावित गर्न नसकेरै हुनसक्छ, कलाकारहरुको आकर्षण यो संस्थाप्रति छैन । कलाकार संघले आयोजना गर्ने विभिन्न कार्यक्रममा कलाकारहरुको उपस्थितीले पनि यो कुराको पुष्टी गर्छ ।

रविन्द्र खड्का र उनको नेतृत्वबाट अपेक्षा गर्न सकिन्छ, तर सुरुवाती दिनहरु निराशाजनक देखिएका छन् ।