भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

साउन २६, २०७७


नयाँदिल्ली — भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको जानकारी गराएका हुन् । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् ।

पूर्व राष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । आइतबार मात्र ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ ।

भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४४ हजार ३८६ जनाको मृत्यु भइसकेको छ ।