तुलसीपुरमा ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट’ हुँदै, विजेतालाई ३० हजार पुरस्कार

भदौ ०४, २०८३


भदौ ४, कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै तुलसीपुरमा ‘इन्टर स्कुल फुटसल टुर्नामेन्ट–२०८३’ अन्तर्गत ‘फेस्टिभल कप’ फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सक्सेस फुटबल क्लबकाे आयोजनामा भदौ २८ र २९ गते प्रतियोगिता सञ्चालन हुने भएको छ । सहभागी हुन इच्छुक विद्यालय तथा टिमले भदौ १७ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगिताका लागि प्रति टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । विजेता टिमले ३० हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ, राइजिङ प्लेयरलाई १ हजार ५ सय रुपैयाँ, उत्कृष्ट गोलकिपरलाई १ हजार ५ सय रुपैयाँ र उत्कृष्ट प्रशिक्षकलाई पनि १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, अन्तरविद्यालयीय खेलकुदको विकासमा सहयोग पुर्‍याउने तथा फुटसलप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।