ज्ञानदिप कलेजमा पत्रकारिता बहस । पत्रकारिताको सम्भावना,अवसर,चुनौति र नयाँ मिडियाको भविष्यबारे चर्चा ।।
डि.आर.एन.
तुलसीपुर स्थित ज्ञानदिप कलेजमा दुईवटा वृहत पत्रकारिता बहस कार्यक्रम सम्पन्न भएको छ । ज्ञानदिप कलेजमा आम संचार तथा पत्रकारीता विषयमा अध्ययनरत विद्यार्थीहरुद्धारा आयोजित बहस कार्यक्रममा विद्यार्थी र पत्रकार विच दुई चरणमा दोहोरो पत्रकारीता सम्वाद भएको थियो । पहिलो चरणमा पत्रकारिता,सम्भावना र चुनौती विषयक बहस भयो । जसमा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल,मेट्रो कलेज तुलसीपुरका प्रमुख वसन्त आचार्य र नयाँ युगवोध राष्ट्रिय दैनिककि सम्पादक लक्ष्मी आचार्यले विद्यार्थीहरुले उठाएको जवाफको सामना गरेका थिए भने दोस्रो चरणमा डिजिटल पत्रकारिता : न्यू मिडिया विषयक बहस कार्यक्रम भएको थियो जसमा पत्रकारहरु शरद रेग्मी,ध्रुव राज न्यौपाने(डि.आर.एन),लेलिन बन्जाडे,गोपाल शर्मा भट्टराई,दिपक वोहरा,आभाष बुढाथोकिले जवालको सामान गरेका थिए ।
कार्यक्रमको पहिलो चरण अन्तर्गत विद्याथीहरुले नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष पोखरेललाई नेपालमा पत्रकारिताको अवस्था कस्तो छ,यसको सम्भावना के हो, पत्रकार आचारसंहिता किन पूर्ण रुपमा लागु हुन सकिरहेको छैन जस्ता अनेकौ प्रश्नहरु राखेका थिए जसको जवाफमा पोखरेलले नेपालमा पत्रकारिताको राम्रो सम्भावना रहेको बताए । उनले जवाफ दिने क्रममा यो पेशा निरन्तर चलिरहने पेशा भएकाले कसैको अभावमा वा कसैको प्रभावमा मात्र टिक्ने पेशा नरहेको बताए । पत्रकारीता पेशामा अनेकौ सम्भावनाका ढोकाहरु खुला रहेको भन्दै उनले यो पेशामा ढुक्क भएर लाग्न समेत विद्यार्थीहरुलाई आग्रह गरे । उनले पत्रकार आचारसंहिताको वारेमा वोल्दै नेपालमा पत्रकार आचारसंहिताको विषयमा वेलावेला कुरा उठ्ने गरेता पनि यसलाई पूर्ण रुपमा लागु गर्न नसकिएको स्विकार गर्दै अवको आफ्नो कदम पत्रकार आचारसंहिता पूर्ण रुपमा लागु गर्ने तर्फ अग्रसर हुने विश्वास व्यक्त गरे ।
यस्तै लामो समयदेखि पत्रकारिता विषय अध्यापन गराउदै आएका तथा हाल तुलसीपुर स्थित मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले पनि विद्यार्थीहरुका अनेकौ प्रश्नहरुको जवाफ दिएका थिए । स्थानिय मिडियाले बढिजसो कार्यक्रम केन्द्रकै किन बजाउछन्,एक मिडियाले उत्पादन गरेको कार्यक्रम अर्को मिडियाले किन प्रशारण नगर्ने,पत्रकारिता पेशामा पढेका भन्दा नपढेका व्यक्ति धेरै छन् किन? भन्ने जस्ता अनेकौ प्रश्नहरुको जवाफ दिदै स्थानिय स्तरमै राम्रा कार्यक्रम उत्पादन नहुने,उत्पादन गर्दा केहि रकम खर्च हुने र केन्द्रका कार्यक्रमहरु बजाउदा त्यसको लागत खर्च नहुने भएकाले केन्द्रका कार्यक्रम बजाउन बाध्य भएको बताए । उनले एक मिडियाले उत्पादन गरेको कार्यक्रम अर्को मिडियाले किन प्रशारण गर्दैन भन्ने प्रश्नको फरक जवाफ दिदै मिडिया मिडिया विच प्रतिस्पर्धा हुन जरुरी छ । प्रतिस्पर्धा भयो भने मात्रै राम्रा कार्यक्रमहरु उत्पादन हुन सक्छन् त्यसैले कुनै मिडियामा राम्रो कार्यक्रम प्रशारण भयो भने अर्को मिडियाले पनि त्यसको प्रतिस्पर्धाका लागि राम्रोे कार्यक्रम उत्पादनमा आफुलाई समाहित गर्छ र श्रोताले राम्रा सामाग्री सुन्न पाउछन त्यसैले मिडियाको आफ्नै कन्टेन्टका लागि अरु मिडियामा प्रशारण गर्न नहुुने उनले तर्क दिए । साथै पत्रकारिता पेशामा पढेका विद्यार्थीहरु वाहिर छन् भन्ने कुरालाई उनले यदि पढेका विद्यार्थीहरु आएर पत्रकारिता जगतमा राम्रो सम्भावना देखाए भने नपढेका जनशक्तिहरु विस्तारै विस्तारै आफै रिटायर भएर जाने बताए ।
यसैगरी नयाँ युगवोध राष्ट्रिय दैनिककि सम्पादक लक्ष्मी आचार्यलाई पत्रकारितामा महिलाले के कस्ता चुनौतीहरुको सामना गर्नु पर्छ?किन पत्रकारितामा महिला प्रतिनिधित्व न्यून रहेको छ भन्ने जस्ता प्रश्नको जवाफ दिदै उनले पत्रकारिता पेशामा पुरुषको तुलनामा महिलालाई गाह«ो भएको बताईन । घरको काम र पत्रकारितालाई संगसंगै बढाउन चुनौति रहेपनि पत्रकारितालाई पहिलो प्राथमिकता दिएर अघि बढे सफल हुन सकिने तर्क गरिन् । मिडियाहरुमा महिला प्रतिनिधित्व कम हुनुको कारण महिलाहरुले बढि समय दिन नसक्ने र भनेको ठाउमा पुगेर काम गर्न अलि गाह्रो हुने भएकाले यस्तो भएको बताईन । साथै उनले पत्रकारिता पेशामा आउन चाहाने महिलाहरुलाई आफुले पूर्ण रुपमा सहयोग गर्ने विश्वास समेत व्यक्त गरिन ।

ज्ञानदिप कलेजका सहायक क्याम्पस प्रमुख मनोज केसीको अध्यक्षतामा भएको कार्यक्रमको दोस्रो चरण अन्तर्गत विद्यार्थीहरुले डिजिटल मिडियाको वारेमा विषेश चासो राख्दै नेपालमा न्यू मिडियाको विकास विस्तारले अन्य मिडियालाई कस्तो असर परिरहेको छ लगायतका प्रश्नहरु राखेका थिए । प्रश्नहरुको जवाफ दिन उत्रिएका डि.आर.एन,लेलिन बन्जाडे र आभाष बुढाथोकिले नेपालमा अव अनलाईन मिडियाको कुनै विकल्प नरहेको बताएका थिए । उनीहरुले नेपालमा नाम चलेका छापा माध्यमले पनि आफुलाई परिमार्जित गर्दै अनलाईन संस्करणमा प्रवेश गरिसकेको बताए । यदि नेपालका छापा लगायतका अन्य माध्यमले आफुलाई परिवर्तन गर्दै लैजान नसक्नेहो भने अनलाईन मिडियाले प्रतिस्थापन गर्न सक्ने चुनौति रहेको बताए । छिटो,छरितो र सहज भएकाले अनलाईन मिडियाको लोकप्रियता विश्व बजारमा नै ह्वात्तै बढेको उनीहरुको तर्क थियो । अनलाईन मिडियाकै कारण कुनै सानो ठाउको समाचार ठुलो समाचारको रुपमा चित्रित भएको बताउदै अनलाईन मिडियाको व्यापकताको वारेमा चर्चा गरे । अनलाईन मिडियाको भविष्य सुन्दर रहेको भन्दै अवको जमाना अनलाईन मिडियाको रहको तर्क प्रस्तुत गरे ।
यसैगरी जवाफ दिन वसेकै छापा तथा विद्युतिय संचार माध्यम संचालनमा ल्याएका शरद रेग्मी,गोपाल शर्मा भट्टराई,दिपक वोहराले अनलाईन मिडिया सर्वाधिक लोकप्रिय भएको स्विकार गरेतापनि अनलाईन मिडिया मात्रै शक्तिशालि मिडियाको रुपमा विकास हुन नसक्ने बताएका थिए । रेडियो तथा पत्रपत्रिकाको पनि आफ्नै खालको लोकप्रियता रहेको भन्दै रेडियो, पत्रिकाले जनताको उल्लखनीय विश्वास जित्न सफल भएको बताएका थिए ।

कलेजका शैक्षिक कोअर्डिनेटर शरद गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एन.प्यावसन दाङका अध्यक्ष विमल गौतम,पत्रकार संगीत वस्याल,देविराम कुसारी,पूर्ण केसी,रमा नेपाली लागायतले पत्रकारिता विषय अध्ययन गर्न लागेका विद्यार्थीहरुको लागि यति राम्रो कार्यक्रम संचालन गरेकोमा कलेज परिवारलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन कलेजका पत्रकारिता विषयका प्रमुख दुर्गालाल केसीले गरेका थिए भने बहस कार्यक्रमको सहजकर्ता विद्यार्थीहरु अंकित आचार्य र जलन भुषाल रहेका थिए ।







