देशको सम्मृद्धि र स्वाभिमान

साउन ३०, २०७८     कृष्ण तिम्सिना



देशको वस्तुगत अवस्था वुझ्ने हो भने, अन्तराष्ट्रिय तुलनात्मक तथ्यांक हेर्नु र विश्लेषण गर्नु अपरिहार्य हुन्छ। नेताको फ्याउरो र काग संवादरुपी (नीति कथा) भाषण र अन्धसमर्थकहरुको झुटमुटयुक्त निच गालिगलौजका कुरा सुनेर हुँदैन ।
सर्वविश्लेषण गर्दा देश रसातलवाट माथि उठनु त टाडाको कुरा क्रमश खस्कदै गएको स्पष्ट देखिन्छ ।
हाल देशका समग्र सुशासन सूचक २७ .९% र भ्रष्ट्राचार नियन्त्रण सूचक २७.४% मात्र प्राप्त भई उत्तिर्णाङ्कसम्म नआएर संधै फेल भएको अवस्था देखिन्छ।
समग्र सुशासन सूचक त क्रमश ह्रासोन्मुख भएर गएको र विगतको जनयुद्ध वढदै गए पछि आन्दोलन ताकासम्ममा नै आधा तल झरेकोमा हालसम्म वढन सकेकै छैन (तल ग्राफ हेरौं)। आर्थिक विकासका सूचकहरू पनि तुलनात्मकरूपमा वढन सकेका छैनन।
सुशासन र भ्रष्टाचार नियन्त्रण सूचकहरू कम्तिमा ५०% नभई सामान्य विकास समेत सम्भव हुँदैन, तथाकथित समृद्धिको कुरा त आकाशको फल भने जस्तै हो। दिगो विकास त असंभव नै हुन्छ।
सरकारी खर्च प्रदेश जस्तो अनावस्यक रुपले विस्तारित प्रशासनिक संरचना एवं औचित्यहिन र अनुत्पादक क्षेत्रमा विनियोजन गरी कागजी घोडा र उद्‌घाटने विकास गरेको देखाएर दुरुपयोग भैरहेको छ।
उर्जाशिल युवाशक्ति देशमा जिविकोपार्जनको कुनै रोजगारीको अवसर नभएर सम्युक्त राष्ट्र संघको भनाइमा नै आधुनिक दासता (Modern slavery) भोग्दै विदेशमा, अधिकांश युवक श्रमदास र युवती यौनदासी हुन वाध्य छन ।
स्वास्थ्य र शिक्षाको निजीकाणले गर्दा सामान्य जनताले आधारभूत अधिकारवाटै वञ्चित भएका छन । जनताका आधारभूत आवस्यकता हावा, पानि, खाना, नाना र छानाको राज्यले प्रत्याभूत गर्नु पर्नेमा त्यो छैन।
नेताहरु निरन्तर एकल लुटतन्त्र केन्द्रित झगडामा रमाउँदै गरेका घटीया गालीगलौज गर्दै आत्मरतीमा डुवेका छन । त्यही समाचारले संचार जगत भरिएको छ । जनताका जनजीविकाका तमाम समस्याको वारेमा कहिल्यै कतै उल्लेख भएको पाइँदैन ।
सत्यतथ्य बोल्नु पर्ने अधिकांश विद्वत वर्ग दलगत आवद्धताका कारण मण्डले संस्कारमा सम्बद्ध रहेका देखिन्छन।
हरेक क्षेत्रमा व्यापक सुधार विना विकास संभव नै हुँदैन, समृद्धि त धेरै टाडाको कुरा हो। कर्मचारीतन्त्र पञ्चायतीराज सापेक्ष नै छ, जनमुखि र कार्यमूखि बनाउन कुनै प्रयास गरिएको छैन। विश्वका उन्नत र वस्तुगत सुधार मोडल केही ल्याइएका भए पनि नतिजा हेर्दा सुधारको ‘सु’ सम्म पनि भएको कुनै क्षेत्रमा देखिदैन ।

लेखक कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका प्रमुख हुनुहुन्छ ।