हल त खुल्यो, देखाउने के ?

भदौ १८, २०७८     सन्तोष के.सी.


कोरोनाको महामारी सुरु भएसँगै ११ चैत २०७६ देखि नेपाल सरकारले पूर्ण लकडाउन गर्‍यो । लकडाउन हुनुपूर्व नै फिल्म हलको ढोका बन्द भइसकेको थियो । फिल्म हल सबैभन्दा जोखिमको केन्द्र भएको भन्दै लकडाउनपूर्व नै हल बन्द गराइएको थियो । करिब १० महिना बन्द भएका फिल्म हल गत माघदेखि खुले । नेपाल सरकारले नै उच्च सतर्कता अपनाएर हल खोल्ने अनुमति दियो । हलवालासँगै फिल्मकर्मीहरूले हल खोल्ने निर्णयलाई उत्साहपूर्ण ढंगले स्वीकारे । तर, हल खुले पनि दर्शक आउने माहौल बनेन ।

यसबीचमा केही पुराना तथा केही नयाँ फिल्म रिलिज भए । तर, दर्शकको उपस्थिति शून्यजस्तै थियो । हल सञ्चालकहरू फिल्मक्षेत्रलाई चलायमान गराउनका लागि घाटा बेहोरेर पनि हल खोलिएको बताउँथे । हल सञ्चालनमा आएको तीन महिना नबित्दै पुनस् हलहरू बन्द भए । कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै फिल्म हल बन्द गरिएको थियो । जुर्मुराउन नपाउँदै फिल्मक्षेत्र पुनस् बजारियो । वैशाख पहिलो सातादेखि बन्द भएका फिल्म हलले सञ्चालनको अनुमति पाएका छन् ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको छलफलबाट फिल्म हललाई खुल्ने अनुमति दिने निर्णय भएको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले फिल्म हल खोल्ने अनुमति दिइएको बताए । बिहीबारदेखि हल त खुल्लान् । तर, फिल्‍म रिलिजका लागि अहिले फिल्मकर्मीहरूमा कुनै तयारी देखिएको छैन । हल खुलेपछि कुन फिल्म रिलिज गर्ने भन्ने प्रश्नको जवाफ नै फिल्मकर्मीसँग छैन । कोही पनि निर्माता यो समयमा जोखिम मोल्न तयार हुने छैनन् ।

तयार भएर, रिलिज हुन नपाएका चलचित्र

फिल्म म यस्तो गीत गाउँछु– २ रिलिजको एक साता मात्र बाँकी रहँदा लकडाउन सुरु भएको थियो । तर, अब हल खुल्दा तत्काल फिल्म रिलिज गरिहाल्ने पक्षमा छैनन्, निर्देशक तथा निर्माता सुदर्शन थापा । फिल्म हल खुले पनि अहिले नै दर्शक हलमा आइहाल्ने अवस्था नभएकाले तत्काल फिल्म रिलिज नगर्ने सुदर्शनले बताए । उनले भने, फिल्ममा ठूलो लगानी भएको हुन्छ । लगानी डुब्ने थाहा हुँदाहुँदै फिल्म रिलिज गर्ने आँट कसले गर्ने ?

सम्पूर्ण फिल्मकर्मीहरूले अलिअलि जोखिम मोल्ने हो भने मात्र फिल्म रिलिज गर्न सकिने सुदर्शनको भनाइ छ । हलवाला, वितरक तथा निर्माताले आफ्नो-आफ्नो ठाउँबाट केही रिस्क लिएर फिल्म रिलिज गरियो भने मात्र फिल्मक्षेत्र चलायमान हुन सक्छ । नत्र गाह्रो पर्छु, सुदर्शनले भने । निर्माता किरण केसीले बनाएको फिल्म लक्का जवानु पनि रिलिजको अन्तिम तयारीमा थियो । पूर्ण तयार भइसकेको फिल्म रिलिज हुन पाएन । अहिले हल खुले पनि किरण आफ्नो फिल्म रिलिज गर्ने पक्षमा छैनन् ।

अझै पाँच महिना फिल्म रिलिज नगर्ने उनको भनाइ छ । यहाँ साथीहरूले सुर्‍याएको भरमा फिल्म रिलिज गरेर हुँदैन । अहिले फिल्म चल्ने अवस्था छैन । त्यसैले अझै केही समय फिल्म रिलिज गर्दिनँ, किरणले भने । किरण हल खुल्नुलाई सुखद समाचार मान्छन् । खुल्नेबित्तिकै हलमा दर्शक खचाखच नभए पनि विस्तारै दर्शक बढ्ने उनको विश्वास छ । त्यसका लागि उनी उपाय दिन्छन्, पुराना-पुराना नाम चलेका फिल्महरू रिलिज गरेर दर्शकलाई हलसम्म तान्नुपर्छ । अनि विस्तारै माहौल बन्छ र फिल्मक्षेत्र चलायमान भइहाल्छ ।