दश हजार दर्शकको साथमा ‘गोर्खा वारियर २’ को बेलायतमा प्रिमियर गरिने

असोज १७, २०७८


निर्देशक तथा निर्माता मिलन चाम्स बेलायतको सबैभन्दा ठूलो र सर्वाधिक महंगो मानिने रोयल अल्बर्ट हलमा आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर २’ को प्रिमियर गर्ने तयारीमा जुटेका छन् । यसका लागि उनले लामो समयदेखि २०२२ का लागि हल ‘बुक’ गर्नका लागि प्रयास गरिरहेका छन् । उनी भन्छन्, म अहिले नै ठोकुवा त गर्न सक्दिनँ तर यही हलमा चलचित्रको प्रिमियर हुनसक्छ ।

निर्देशक चाम्सको सपना रोयल अल्बर्ट हलमा चलचित्रको प्रिमियर गर्ने मात्र छैन, उक्त समारोहमा १० हजार दर्शकको उपस्थिति गराउने योजना पनि उनको छ । उनी भन्छन्, ‘चलचित्र गोर्खाली सैनिकको कथामा बन्न लागेको हो । बेलायतमा सबैभन्दा बढी सम्मान नै गोर्खाली सौनिकको हुन्छ । यसैले चलचित्रको प्रिमियरमा १० हजार दर्शकको उपस्थिति गराउन सकिन्छ भन्ने लागेको छ ।

रोयल अल्बर्ट हलमा चलचित्रको प्रिमियर गर्न लाग्ने खर्चले नेपालमा ५ वटा महंगा चलचित्र बन्न सक्छ । यति ठूलो खर्चमा प्रिमियर गर्न आवश्यक छ रु भन्ने प्रश्नमा निर्देशक चाम्स भन्छन्, ‘यो हलमा चलचित्र प्रिमियर गर्दा पैसा त ठूलै खर्च हुन्छ तर मेरो उद्देश्य नेपाली चलचित्रलाई विश्वमाझ चिनाउनु र गोर्खाली सैनिकको विरता संसारलाई देखाउनु हो । चलचित्रको कात्तिकबाट छायांंकन सुरु हुँदैछ ।

दोस्रो चरणको कोरोना महामारीअघि चलचित्रको ३० प्रतिशत छायांकन सकिएको थियो । अब बाँकी छायांकन नेपाल, मलेशिया र बेलायतमा हुनेछ । बेलायतमा भने चलचित्रका छायांकन स्टूडियोभित्र हुने चाम्सले बताए । चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले मुख्य भूमिकामा छन् ।