दशैंको एक हप्ता पछाडि ‘कबड्डी ५’, तिहारअघि नै पर्दामा आउँदै

२० घण्टा अगाडि


असोज २, नेपाली फिल्म क्षेत्रमा सर्वाधिक लोकप्रिय शृंखलामध्ये एक ‘कबड्डी’को पाँचौं श्रृंखला ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को प्रदर्शन मिति तय भएको छ। दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेको यो फिल्म कार्तिक ६ गते बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्म दसैंको एक हप्ता पछाडि र तिहारको करिबदुई हप्ता अघि प्रदर्शनमा आउन लागेको हो।

यसअघि फिल्म दशैंको अवसरमा प्रदर्शन गर्ने तयारी भए पनि नेपाली फिल्मलाई दशैंको समयमा नै प्रदर्शनको अवसर दिनुपर्ने भन्दै ‘कबड्डी ५’लाई कार्तिक ६ गते ल्याउने निर्णय गरिएको निर्देशक गुरुङले बताएका छन शुक्रबार सार्वजनिक गरिएको फिल्मको पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो थप बढेको देखिन्छ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, विपिन कार्की र मिस यूके नेपाल–२०१७ सिर्जना गुरुङलगायत कलाकारको अभिनय रहेको छ। विपिन कार्की र सिर्जना गुरुङ यसपटक ‘कबड्डी’ शृंखलामा नयाँ कलाकारका रूपमा जोडिएका छन् भने दयाहाङ, मिरुना, विजय, बुद्धि, कमलमणि र अरुणालगायत अघिल्ला श्रृंखलाका कलाकारले निरन्तरता पाएका छन्।

‘कबड्डी’ शृंखला नेपाली फिल्म उद्योगमा दर्शकको निरन्तर साथ पाउने सफल शृंखलाका रूपमा स्थापित छ। करिब १२ वर्षदेखि निरन्तर अगाडि बढिरहेको यो शृंखला पाँचौं संस्करणसम्म आइपुगेको हो। त्यसैले ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’लाई यस वर्ष दर्शकले विशेष प्रतीक्षा गरिरहेको फिल्मका रूपमा हेरिएको छ।

दर्शकसँग बलियो सम्बन्ध बनाइसकेको ‘कबड्डी’को नयाँ संस्करणमा पुराना कलाकारसँगै नयाँ कलाकारको प्रवेश र रामबाबु गुरुङको निर्देशनका कारण फिल्मप्रति चासो अझ बढेको छ। कार्तिक ६ गतेबाट प्रदर्शनमा आउने फिल्मले तिहारको माहोललाई समेत तताउने अपेक्षा गरिएको छ।