‘कबड्डी ५’ को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक, काजीको प्रेमकथा झल्काउने प्रयास

८ घण्टा अगाडि


असोज १९, दसैंको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक गरिएको छ ।

कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा बाँस्कोटाकै स्वर छ । गीतको मिक्सिङ, मास्टरिङ तथा संगीत संयोजन रिकेश गुरुङ किजले गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य पात्र काजी (दयाहाङ राई) को तीन सोल्टिनीसँगको सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

एउटी सोल्टिनीसँग काजीले घरबार बसाएको देखिन्छ भने अर्की सोल्टिनी मैयाँ र मिस शान्तिसँग पनि उनको सम्बन्ध जोडिएको देखाइएको छ । गीतमार्फत काजी पात्रको मनोभावलाई प्रस्तुत गरिएको छ । जीवनभर साथ नहुने सम्बन्धमा माया र प्रेमका कुरा नगर्न आग्रह गर्ने भाव गीतमा समेटिएको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता छन् भने सागर राज कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

‘कबड्डी’का अघिल्ला चारवटै श्रृंखलाले नेपाली चलचित्र बजारमा उल्लेख्य सफलता हासिल गरेका कारण पाँचौँ श्रृंखलालाई पनि दर्शकले निकै प्रतीक्षा गरिरहेका छन्। चलचित्र कात्तिक ६ गते दसैंको अवसरमा प्रदर्शनमा आउनेछ ।