‘लाखे’को आइटम नम्बर ‘तिम्रो पिरेम’ सार्वजनिक (भिडियोसहित)

असोज ३१, २०७९



सम्राट बस्नेत निर्देशित मल्टीस्टारर चलचित्र ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंको विश्वज्योति हलमा आयोजित एक कार्यक्रमकाबीच ‘तिम्रो पिरेम’ बोलको गीत सार्वजनिक गरिएको हो ।

आगामी कार्तिक १८ गतेबाट प्रदर्शन हुने चलचित्रको सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता अनुपविक्रम शाही र आर्यन अधिकारी नृत्य गर्दै देखिएका छन् भने सौगात मल्ल उनीहरुको गतिविधि निहालिरहेको देखिन्छन् ।

हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा संगीत तथा शब्द गायक बस्नेत स्वयंको रहेको छ । सौरभ लामाले खिचेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।

चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणालगायतको मुख्य भूमिका रहेको छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन । दीपक बज्राचार्यको संगीत, कबिराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा निर्देशक सम्राटकै द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई आरआर फिल्मस्को बितरण गर्दैछ ।