रुसी आक्रमणका कारण एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित

मङि्सर ०२, २०७९


काठमाडौ, २ मंसिर । 

रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको बताउनुभएको छ । बिजुली आपूर्ति व्यवस्था सामान्य बनाउन हरेक प्रयास गरिरहेको उहाँको भनाइ छ । जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल सहर क्षेत्रमा हजारौँ घरमा पानी र बिजुली आपूर्ति बन्द छ । रुसले युक्रेनमाथि गएराति पनि क्षेप्यास्त्र प्रहार गरेको छ ।

आक्रमणको निशानामा भवन र ऊर्जा केन्द्रहरू परेका छन् । युक्रेनी राष्ट्रपतिका अनुसार दक्षिणी सहर जापोरिजा नजिकै रहेको अपार्टमेन्टको एक भागमा क्षेप्यास्त्र प्रहार हुँदा सात जना मारिएका छन् । २३ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । एकपछि अर्को आक्रमण हुन थालेपछि युक्रेनीहरूलाई हवाई सुरक्षा सतर्कताको चेतावनी दिइएको छ।