‘ह्यारी कि प्यारी’ रिलिज, जितु र साम्राज्ञीको अग्नीपरिक्षा

माघ २०, २०७९


देशभरका हलमा आजबाट नेपाली फिल्म ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डाक्टर कपिल रिजालको निर्देशनमा तयार भएको यो फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज उपलब्ध गराएका छन् । नयाँ नेपाली फिल्म एकसाथ नहुनु, साउथको फिल्म पनि अझै रिलिज नहुनु आदि कारणले यो फिल्मलाई फाइदा हुनसक्छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल, बिजय बराल, लक्ष्मी गिरी, नरेश पौडेल, डाक्टर भोला रिजाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मले लामो समयदेखि सुस्ताएको नेपाली फिल्मको बजारलाई चलायमान बनाउने अपेक्षा धेरैको छ । यो फिल्म मुख्य २ कलाकार जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि अग्नीपरिक्षा नै हो । किनकी, साम्राज्ञीको फिल्म नचलेको लामो समय भैसकेको छ ।

अझ, पछिल्लो रिलिज फिल्म ‘तिम्रो मेरो साथ’ बक्स अफिसमा सुपर फ्लप भएपछि महंगी नायिका साम्राज्ञीका लागि यो फिल्म चल्नैपर्ने दबाब छ । अर्कोतिर, कलाकार जितु नेपालले सिंगो फिल्म बोकेका छन् । ‘छक्का पन्जा’ टिमसँग छुटेपछि जितुले काम गरेको यो सोलो फिल्म हो । यसकारण, यो फिल्म उनका लागि चल्नैपर्ने अवस्था छ । फिल्मले प्रिमियरमा राम्रो चर्चा र तारिफ पाएको थियो ।