प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का निर्वाचित

बैशाख ३१, २०८०


बैशाख ३१, नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का निर्वाचित भएका छन् । युनियनको आठौं जिल्ला अधिवेशनले खड्कालाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । घोराहीको बाह्रकुनेमा शनिबार भएको अधिवेशनले खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई, किरणविक्रम शाह र महिला उपाध्यक्षमा पार्वती बस्नेतलाई चयन गरेको छ । यसैगरी सचिवमा अमरक्षितिज भण्डारी, सह-सचिवमा सन्तोष केसी र उमा भण्डारी, कोषाध्यक्षमा लीलाधर वली र सहकोषाध्यक्षमा सुशीला वली निर्वाचित भएका छन् । यसैगरी अधिवेशनले सदस्य पनि निर्वाचित गरेको छ ।

जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियामैत्री कानुन निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाए । सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्यहरु प्रचण्डविक्रम न्यौपाने, लोका विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, अधिवेशन केन्द्रीय प्रतिनिधि तथा युनियनका उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलीप पौडेल, नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगी, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस सेन्टर नेपालका सचिव जनक नेपाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा युनियनलाई बलियो बनाउन योगदान गर्ने अग्रजहरुलाई सम्मान गरिएको थियो ।