दुर्घटना स्थलमा उद्योग वाणिज्य संघले राख्यो डिभाइडर
शरद रेग्मी
तुलसीपुर, भदौ ८ । तुलसीपुर उद्योग वाणिज्य संघले पछिल्लो समय दुर्घटना बढिरहेको मदन आश्रित चोकदेखि गुम्राह चोकसम्मको सडकमा डिभाइडर राखेको छ । एक हप्ता नबित्दै दुई जनाले ज्यान गुमाउनु परेको तथा दैनिकजसो दुर्घटना हुने गरेको क्षेत्रलाई लक्षित गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय तुलसीपुर, स्थानीय सरकार र राप्ती बबई क्याम्पसको सहकार्यमा अभियान सुरु गरिएको हो ।
जनचेतना अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि पहिलो चरणमा नमुनाका रूपमा करिब १ लाख ६० हजार रुपैयाँ बराबरका डिभाइडर राखिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जानकारी दिनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली, पूर्व जनप्रतिनिधि एवं सामाजिक अभियन्ता नवराज लामिछाने, पूर्व अध्यक्ष विमल रिजाललगायतले सडक दुर्घटना न्यूनीकरणका लागि अभियान प्रभावकारी हुने बताउनुभयो । उहाँहरूले सडक सुरक्षाका लागि प्रहरी, स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिकबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।







