चलचित्र विकास बोर्डले दाङमा बाल चलचित्र महोत्सव गर्ने

जेठ ०२, २०८०


जेष्ठ २, चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । बोर्डको मंगलबार बसेको बैठकले आगामी असार १, २ र ३ गते दाङमा बाल चलचित्र महोत्सव गर्ने निर्णय गरेको प्रवक्ता केएल बुढाथोकीले जानकारी दिनुभयाे ।

महोत्सवको संयोजकमा बुढाथोकीलाई तोकिएको छ । उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्मको प्रदर्शनी हुनेछ । साथै, फिल्मज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुने बुढाथोकीले बताउनु भयाे ।

महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रमसमेत गरिने जनाइएको छ । बालबालिकामाझ फिल्मको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, फिल्म अभ्यास गराउने, बाल फिल्म क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने महोत्सवको उद्देश्य छ ।