विश्व शान्ति दिवसको पूर्व सन्ध्यामा शान्ति गीत सार्वजनिक

असोज ०३, २०८०


आश्विन ३, प्रसिद्ध गायिका साधना सरगमको स्वरमा ‘शान्ति गीत’ को भिडियो आज एक विशेष समारोह विच सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधानविद् डा.भीमार्जुन आचार्यको प्रमुख आतिथ्यतामा संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा उक्त गीत सार्वजनिक गरिएको हो ।एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेम प्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले विश्व शान्ति दिवसको पूर्वसन्ध्यामा गीतमार्फत आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए । रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायाङ्कन, टेकेन्द्र शाहले दृश्य सम्पादन र हेमप्रभासले निर्देशन गरेका छन् ।

विश्वभरका मानिसहरुबीच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए । भिडियोलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलले बजारमा ल्याएको हो ।