नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत

फागुन १९, २०८०


फागुन १९, टी-२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्स माथि ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो ।

नेदरल्यान्ड्स प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ३ चौका र १ छक्का हिरकाए
उनलाई गुल्सन झाले ३६ बलमा ३८ रन बनाएर राम्रो साथ दिए । उनले २ चौका र एक छक्का हिर्काए । यसअघि ओपनर कुशल भुर्तेलले ८ बलमा १२ रन र आसिफ शेखले ८ बलमा ८ रन बनाएर आउट भएका थिए । नेदरल्यान्डसका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।

शनिबारको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९।३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चेर ती विकेट लिए । त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए । यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।