लुम्बिनी प्रदेशको प्रमुख सचिव सहित ६ जना सचिवको सरुवा

बैशाख २२, २०८१


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव राधिका अर्याल सहित सरकारले विभिन्न ६ जना सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सचिव सरुवाको निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत् सचिव डा. गणेशप्रसाद पाण्डेयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र त्यहाँका सचिव डा. दिपक काफ्लेलाई शिक्षा सचिवमा सरुवा गरिएको छ।

कृषि सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेर वन सचिव डा. दीपककुमार खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छीतर्फको सचिवमा सरुवा गरिएको छ।

पशुपन्छीतर्फको सचिव डा. रेवतीरमण पौडेल कृषि सचिवमा सरुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशकी प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ।