कात्तिकमा ५ फिल्म : गन्धर्वको कथादेखि हरर कमेडीसम्म
कात्तिक ०६, नेपाली बक्सअफिस असोज महिनामा हराभरा रह्यो । ७ फिल्म रिलिज भएको असोजमा ५ फिल्म बक्सअफिस तताउन सफल भए । असोजमा फिल्म ‘सानो संसार’, ‘खुस्मा’, ‘आँखा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले बक्सअफिस चलायमान बनाए ।
बक्सअफिस चलायमान बनाउनेमा सबैभन्दा अगाडि ‘छक्का पञ्जा ५’ रह्यो भने ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले पनि राम्रै व्यवसाय गरे । यी तीन फिल्म अहिले पनि प्रदर्शन भइरहेका छन् । ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’ले पनि लगानी सुरक्षित गर्न सफल भएको दाबी गरिएको छ । तर कति कमाए भन्ने सार्वजनिक गरिएको छैन । निर्माताहरुका अनुसार हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड तिहार रहेको कात्तिकमा भने ५ फिल्म रिलिजको तयारीमा छन् ।
कात्तिकमा ‘सानो संसार’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘फिरफिरे फिरिरी’, ‘केटी हराएको सूचना’ र ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुँदैछन् । यीमध्ये ‘सानो संसार’ आगामी शुक्रबार अर्थात् कात्तिक ९ गते, ‘पूर्णबहादुरको सारङ्गी’ लक्ष्मीपूजाको अवसर पारेर १५ गते, ‘फिरफिरे फिरिरी’ २२ गते, ‘केटी हराएको सूचना’ र ‘ह्रस्व दीर्घ’ ३० गते रिलिज हुने तयारीमा छन् ।
फरक विषयवस्तु खोज्ने दर्शकका लागि कात्तिक विशेष हुनसक्छ । किनभने यो महिना रिलिज हुने ‘सानो संसार’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘फिरफिरे फिरिरी’, ‘केटी हराएको सूचना’ र ‘ह्रस्व दीर्घ’ सबैका विषयवस्तु एक अर्कोसँग मिल्दैन । कत्तिक पहिलो साता अर्थात् ९ गते रिलिज हुने फिल्म ‘सानो संसार’ ले एउटा मध्यम वर्गीय परिवारको कथा उठाएको छ ।
फिल्म गत असोजमा रिलिज भए पनि बाढी–पहिरोको प्रभावका कारण रिलिज स्थगित गर्र्दै अहिले ल्याइएको हो । अर्जुन कुमार र माधव वाग्लेले निर्माण गरेको यो फिल्म सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।
तिहारको अवसर पारेर कात्तिक दोस्रो साता ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुन लागेको छ । गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई कथा बनाएको यो फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । फिल्मको निर्देशन सरोज पौडेलले गरेका हुन् ।
यस्तै तेस्रो साता अर्थात् २२ गते ‘फिरफिरे फिरिरी’ रिलिज हुँदैछ । हरर कमेडी जनरामा बनेको फिल्म छठ पर्वको अवसर पारेर आउन लागेको हो । नविन भट्ट निर्देशित फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ ।
अन्तिम साता अर्थात् ३० गते भने ‘ह्रस्व दीर्घ’ र ‘मिसिङः केटी हराएको सूचना’ गरेर दुई फिल्म रिलिज हुँदैछन् ।
एकअर्कोसँग भिड्न तयार भएको ‘ह्रस्व दीर्घ’ र ‘मिसिङः केटी हराएको सूचना’ मध्ये ‘ह्रस्व दीर्घ’ समसामयिक विषयमा निर्माण भएको फिल्म हो । पहिले असोज ३ गते आउने तयारीमा रहेको यो फिल्म सरेर कात्तिक ३० मा आउन लागेको हो ।
अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतका कलाकारको अभिनय छ । फिल्मको निर्देशन चन्द्र पन्तले गरेका हुन् ।
अर्को फिल्म ‘मिसिङः केटी हराएको सूचना’मा दीपेन्द्र गौचनको निर्देशन छ । प्रेमिका हराएको विषयवस्तुमा निर्माण भएको फिल्ममा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन निर्माता छन् ।