मंसिरमा किन नेपाली फिल्मको अभाव ?
नेपाली बक्सअफिसमा यतिबेला फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कै चर्चा छ । गत कात्तिक १५ मा रिलिज भएको फिल्मले समाचार तयार गर्दासम्म स्वदेशी बक्सअफिसमा ४६ करोड रुपैयाँको व्यवसाय गरिसकेको छ । कात्तिकमै रिलिज भएको अर्को फिल्म ‘ह्रस्व दीर्घ’ले पनि राम्रो व्यवसाय गरेको बताइन्छ । यो फिल्मले साढे ८ करोड कमाएको दाबी निर्माण युनिटको छ ।
गत असोजमा रिलिज भएका ४ फिल्म ‘बेहुली फ्रम मेघौली’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ ले पनि व्यावसायिक सफलता हात पारे । तीमध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ त ‘ब्लकबस्टर’ नै साबित भए । मंसिरको पहिलो साता रिलिज दुई फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनरत छन् । तर, गत शुक्रबार ९मंसिर १४०देखि हलमा नयाँ नेपाली फिल्मको अभाव देखिएको छ । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा मंसिरको दोस्रो सातादेखि अन्तिम सातासम्म रिलिजका लागि नयाँ नेपाली फिल्मको अभाव देखिएको छ ।
मंसिरमा फिल्मको अभाव देखिनुमा विविध कारण औँल्याइएको छ । कतिपयले जाडो र धान भित्र्याउने समयको कारण देखाएर नयाँ फिल्म नआएको तर्क गरिरहेका छन् । कतिपयले भारतीय फिल्म ‘पुष्पा २’ का कारण दर्शक कम पाउने भएर नयाँ नेपाली फिल्म नल्याइएको बताउँदै आएका छन् । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ मंसिर २० मा रिलिज हुँदैछ । यो फिल्मसँग भिड्दा नेपाली फिल्मको व्यवसाय नहुने डरले मंसिरमा नयाँ फिल्म नराखेको हुनसक्ने निर्माता, वितरक तथा प्रदर्शक गोपाल काजी कायस्था बताउँछन् ।
अहिले नेपाली निर्माता फिल्म रिलिजको डेट फिक्स गर्दा पहिले हिन्दी फिल्म के–के आउँछ, त्यो हेरेरमात्र अगाडि बढ्छन्’, कायस्थाले भने, ‘मंसिरमा अभाव देखिनुमा ुपुष्पा २ु कै प्रभाव हो । ‘पुष्पा २’ पछि पनि सलमान खानको फिल्म आउन लागेको उनले सुनाए । ‘मंसिर र पुस पहिलेदेखि नै फिल्म रिलिजका लागि राम्रो मानिँदैन । त्यसमा राम्रो हिन्दी फिल्म आएपछि कसले नेपाली फिल्म जुधाउँछ र रु’ कायस्थाले थपे । तर निर्माता तथा वितरक करण श्रेष्ठ यो तर्कसँग सहमत छैनन् । उनी राम्रो नेपाली फिल्म आए हिन्दी फिल्मले असर नगर्ने बताउँछन् । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ रिलिजको समय ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ हिन्दी फिल्म आएको उदाहरण दिँदै श्रेष्ठले भने, ‘हिन्दी फिल्मलाई पछि पार्दै पूर्णबहादुरको सारङ्गीुले राम्रो व्यवसाय गर्यो ।
हिन्दी फिल्मको प्रभावभन्दा पनि मंसिर र पुस चिसो महिना, हलमा दर्शक जाँदैनन् भन्ने मान्यताले फिल्म अभाव देखिएको श्रेष्ठको धारणा छ । अघिल्ला वर्ष मंसिरमा आफूले केही फिल्म रिलिज गरेको उनले सुनाए । ‘चचहुई’, ‘लभ यु हमेसा’ लगायत केही फिल्म आफूले मंसिर महिनामै रिलिज गरेको भन्दै उनले मंसिरमा छोटो दिन हुने, चिसो महिना हुनाले पनि हलमा दर्शक जाँदैनन् भनेर निर्माताको रोजाइमा नपर्ने गरेको बताए । श्रेष्ठले भने, ‘मंसिरमा फिल्म नै रिलिज नहुने त होइन, तर यो वर्ष भने अहिलेसम्म हेर्दा अभाव देखियो ।