‘कर्मा’ को फर्स्टलुकमा विपिनको एक्सन भूमिका

फागुन ०१, २०८१


‘अगस्त्य’ बाट चर्चामा आएका सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार निर्देशक चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको दुईवटा पोस्टरमा फिल्मका मुख्य अभिनेता विपिन कार्की चित्रित छन् । हातमा सर्ट गन बोकेका उनको अनुहारमा रिसको आवेग छ । यसले उनको पात्र बदलाको भावमा रहेको बुझाउँछ ।

फिल्ममा विपिन एक्सन भूमिकामा प्रस्तुत छन् । पोस्टरबाट पनि यो पुष्टि हुन्छ । उनले पहिलो पटक एक्सन भूमिकामा काम गरेका हुन् । उनको लुक्सले फिल्मप्रति दर्शकमा उत्सुकता जगाउने निश्चित छ । पोस्टर हेर्दा उनले शारीरिक रुपमा पनि मिहिनेत गरेको देखिन्छ । उनी फिट देखिएका छन् । यसमा उनको जोडी भएर अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गरेकी छन् ।

नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा मुकुन भुसाल, दिव्यदेव लगायतको पनि अभिनय छ । यसमा मुकुन नकारात्मक भूमिकामा छन् । एक्सन जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । सौरभ लामाले फिल्म खिचेका हुन् ।