‘छ माया छपक्कै २’ बनाउँदै दीपक-दीपा

पुष २२, २०८२



केही दिनअघि अभिनेता दीपकराज गिरीले फेसबुकमा एक पोस्ट लेख्दै आगामी फिल्ममा अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको रुपमा आफू प्रस्तुत हुने जानकारी गराएका थिए । तर, उनले फिल्मको नाम खुलाएका थिएनन् । निकट स्रोतका अनुसार उनी उम्मेदवारको भूमिकामा देखिने फिल्मको नाम ‘छ माया छपक्कै २’ हो ।

‘छ माया छपक्कै’ २०७६ सालको सुपरहिट फिल्म हो । दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीले निर्माण गरेको यस फिल्ममा दीपकसहित केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतले अभिनय गरेका थिए । अब सोही फिल्मको सिक्वेलको रूपमा दोस्रो श्रृंखला बनाउन लागिएको हो । फिल्मको स्क्रिप्ट समेत ‘लक’ भइसकेको स्रोतको दाबी छ ।

यतिबेला फिल्मको टिम लोकेशन हेर्न गण्डकी प्रदेशमा छ । यसै साता दीपक-दीपासहित निर्देशक लामा र निर्माता अधिकारीले बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्दै नयाँ फिल्मको निर्माण सुरु भएको संकेत दिएका थिए । बुझिए अनुसार फिल्मको निर्देशन लामा स्वयंले गर्नेछन् भने लगानी रोहितको रहनेछ । दीपक(दीपा समूह मुनाफाको हिस्सेदारमा रहने जनाइएको छ ।

आगामी फागुनमा छायांकनको तयारी गरिएको यस फिल्मलाई दशैंको फूलपातीमा रिलिज गर्ने लक्ष्य राखिएको छ । रोचक कुरा के छ भने फूलपातीमा अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ २’ पनि प्रदर्शन हुँदैछ । दुवै फिल्मले फूलपातीको मिति नछाडेको खण्डमा दोस्रो पटक दीपक र विराज-समीर बक्स अफिसमा आमनेसामने हुनेछन् ।